
कृष्णसार अनलाइन । बर्दिया राष्ट्रिय निकुञ्ज खरखडाइका लागि दुई दिन खुला हुने भएको छ । स्थानीयलाई आवश्यक पर्ने बनकस, नर्कट र खर कटान गर्न दिनका लागि निकुञ्ज दुई दिन खुला हुने भएको हो ।
निकुञ्जले प्रत्येक वर्ष स्थानीय आवश्यकतालाई मध्यनजर खडखडाइ खुला गर्ने गरेको छ भने स्थानीयले पनि आफ्नो आवश्यकताअनुसार घरायसी प्रयोजनका लागि निकुञ्जबाट बनकस, खर र नर्कट लैजाने गरेका छन् ।

निकुञ्जले फागुन २४ र २५ गते खरखडाइका निकुञ्ज खुला गर्ने निर्णय गरेको निकुञ्जका संरक्षण अधिकृत डाक्टर अशोक रामले बताउनु भयो । उहाँले भन्नुभयो, ‘खडखडाइ संकलन गर्नका लागि १८ वटा नाकाको व्यवस्थापन गरिएको छ। खडखडाइ हुने दिनमा बिहान ७ बजेबाट साँझ ५ बजेको समयसम्म निकुञ्ज खुला हुनेछ। तर, खरखडाइका नामको कसैले अवैध कार्य गरेका पाइएमा राष्ट्रिय निकुञ्ज ऐन, २०२९ र बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली, २०५३ अनुसार कारबाही हुन्छ।’
खरखडाइका लागि निकुञ्जमा जाने व्यक्तिले प्रतिव्यक्ति एक रुपैयाँ राजस्व तिरेर खडखडाइ अनुमतिपत्र लिनुपर्नेछ। अनुमतिपत्र निकुञ्जले तोकेको स्थानमा गएर फागुन २२ र २३ गते लिनुपर्नेछ।


