
प्रकाश पौडेल, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्ज स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा पारेर निकुञ्जले स्वर्ण महोत्सव मनाउने तयारी गरिएको छ।
ठाकुरद्वारामा निकुञ्जले १७ वैशाखमा एक औपचारिक कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ। निकुञ्ज सुरुमा २०३२ सालमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित भयो। त्यसपछि २०४५ सालमा बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २० मंसिर २०४५ मा शाही बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो। जनआन्दोलन पछि शाही बर्दिया राष्ट्रिय निकुञ्जको नाम परिवर्तन गरेर बर्दिया राष्ट्रिय निकुञ्ज राखियो।

बर्दिया राष्ट्रिय निकुञ्ज तराईको सबैभन्दा ठुलो निकुञ्ज हो। यो निकुञ्जमा निकुञ्जभित्र पाटेबाघ, गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जंगली हात्ती वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान गरेको छ। निकुञ्जमा घडियाल गोही, मगर गोही, डल्फिन ओतजस्ता जलचर जनावर र विभिन्न प्रजातिको चराको समेत संरक्षणमा समेत निकुञ्जको योगदान रहेको छ ।
निकुञ्ज स्थापना भएसँगै निकुञ्जले वन्यजन्तु र जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण योगदान रहेको हुँदा निकुञ्ज स्थापना भएको ५० औँ वर्ष पूरा भएको अवसर पारेर स्वर्ण महोत्सव मनाउने गरिएको निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, निकुञ्जले स्वर्ण महोत्सव निकुञ्जको हाताभित्र मनाउने तयारी गरिएको छ। त्यसका लागि पूर्वतयारीसमेत भएको छ। स्वर्ण महोत्सवमा निकुञ्ज संरक्षणमा योगदान पुर्याउने व्यक्तिलाई सम्मानदेखि खेलकुद कार्यक्रमसम्म गर्ने कार्यक्रम रहेको छ।
निकुञ्जमा पाइने जैविक विविधता हेर्न बर्सेनि देश(विदेशबाट हजारौँको संख्यामा पर्यटक आउने गरेका छन्। निकुञ्ज घुम्न आउने पर्यटकको रोजाइमा पाटेबाघ पर्ने गरेको छ।


