
प्रकाश पौडेल, गुलरिया । बर्दियाको गुलरियामा रहेको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । १५० जनाको क्षमता रहेको कारागारमा हाल ४७४ जना कैदीबन्दी राखिएको हो ।
कारागारको पुरुष बन्दीगृहको क्षमता १२५ जनाको भए पनि हाल २९२ जना कैदी र ११३ जना थुनुवा गरी ४०५ जना पुरुष कैदीबन्दी छन्। पुरुष कैदीमध्ये २८० जना नेपाली र १२ जना विदेशी नागरिक रहेका छन्। त्यस्तै, पुरुष थुनुवामध्ये १०६ जना नेपाली र सातजना विदेशी नागरिक रहेका छन् ।

कारागारका खरिदार तथा सूचना अधिकारी रविकुमार थारूका अनुसार महिला बन्दीगृहको क्षमता २५ जनाको भए पनि हाल ३५ जना कैदी र ३४ जना थुनुवा गरी ६९ जना महिला छन्। महिला कैदीमध्ये ३४ जना नेपाली र एकजना विदेशी नागरिक छन् भने महिला थुनुवामध्ये ३० जना नेपाली र चारजना विदेशी नागरिक रहेका छन्। कारागारमा तीनजना आश्रित बालबालिका पनि रहेका छन्।
क्षमताभन्दा अत्यधिक कैदीबन्दी भएपछि कारागारको भौतिक संरचना, बसोबास, खानेपानी, शौचालय तथा सरसफाइ व्यवस्थापनमा समस्या भइरहेको कारागार प्रशासक दीपेन्द्रबहादुर शाहीले बताउनु भयो । उहाँले कैदीबन्दीको व्यवस्थापन सुधार गर्न नयाँ भौतिक संरचना निर्माण गर्नुका साथै पर्याप्त खानेपानी, शौचालय र सरसफाइको व्यवस्थापनको आवश्यकता रहेको बताउनु भयो ।
कैदीबन्दीलाई समाजमा पुनर्स्थापित गर्न व्यावसायिक तथा उद्यम विकाससम्बन्धी तालिम सञ्चालन गर्ने, मनोरञ्जन तथा खेलकुदका सामग्री र पुस्तकालयमा थप अध्ययन सामग्रीको आवश्यकता रहेको प्रशासनको भनाइ रहेको छ ।
यस्ता गतिविधिले कैदीबन्दीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुका साथै कारागारबाट बाहिरिएपछि समाजमा पुनर्स्थापित हुन सहज हुने प्रशासक शाहीको धारणा व्यक्त गर्नुभयो ।


