
प्रकाश पौडेल, गुलरिया । भोटेकोशी बाढी प्रभावितका लागि ठाकुरबाबा नगरपालिकाका स्थानीयले सङ्कलन गरेको राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको पहलमा आएको भन्दै पार्टीका नेता तथा कार्यकर्ता राहत वितरण गर्न पार्टीको चुनाव चिह्न ‘घण्टी’ अंकित टोपी र टिसर्ट लगाएर पुगेका छन्।
स्थानीयले ‘मुठ्ठी दान’ अभियान मार्फत सङ्कलन गरेको दाल, चामल, नुन, चाउचाउलगायत सामग्री सङ्कलन गरिएको थियो । तर सो राहत सामाग्री राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित बर्दिया क्षेत्र नम्बर २ का सांसद श्रीधर पोख्रेलको पहलमा आएको भन्दै वितरण गरिएको भए पनि राहत सामग्री स्थानीयले नै सङ्कलन गरेको अभियानकी अभियन्ता ठाकुरबाबा नगरपालिका, १ भुरीगाउँकी गंगा थापाले बताउनु भयो । उहाँले भोटेकोशीमा बाढी आएको भोलिपल्टदेखि नै पालिकाभित्रका स्थानीयले बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले ‘मुठ्ठी दान’ अभियान सञ्चालन गरी खाद्यान्न तथा अन्य सामग्री सङ्कलन गरेको जानकारी दिनुभयो ।

‘भोटेकोशीमा आएको बाढीपछि प्रभावित र पीडित भएका व्यक्तिहरूलाई राहत पुर्याउने उद्देश्यले पालिकाभित्र बसोबास गर्ने व्यक्तिहरूले राहत उठाउनु भएको हो,’ थापाले भन्नुभयो, ‘राहत सामग्री प्रभावित क्षेत्रमा लैजान सम्भव नभएपछि सम्बन्धित निकायलाई बुझाएका थियौँ।’
ठाकुरबाबाका स्थानीयले रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा पठाउने उद्देश्यले संकलन गरेको राहत सामग्री सरकारले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा जिन्सी सामग्री नपठाउन आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। पछि सोही राहत सामग्री सांसद पोख्रेलको पहलमा आएको राहतका रूपमा प्रचार गर्दै रास्वपाका नेता तथा कार्यकर्ता राहत वितरणमा पुगेका हुन्। राहत वितरण गर्दा पार्टीको चुनाव चिह्न ‘घण्टी’ अंकित टोपी र टिसर्ट प्रयोग गरिएको थिए ।
अभियन्ता थापाले विपद्को समयमा स्थानीयले दुःख गरेर संकलन गरेको राहतलाई राजनीतिक प्रचारको माध्यम बनाउन नहुने बताउनु भयो । ‘स्थानीयले बाढीपीडितका लागि सङ्कलन गरेको राहतलाई सांसदको पहल भन्दै पार्टीको प्रचार गरिनु दुःखद मात्र होइन, लज्जाको विषयसमेत हो,’ उहाँले भन्नुभयो ।
भोटेकोशीमा भदौ १० गते आएको बाढीमा बर्दियाका ७६ जना व्यक्ति सम्पर्कविहीन भएका थिए। बाढी आएको करिब दुई सातापछि स्थानीयले सङ्कलन गरेको राहत सामाग्री लिएर राष्ट्रिय स्वतन्त्र पार्टी नेताहरू सांसद पहल आएको राहत भन्दै राहत वितरण गर्न पुगेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाका निवर्तमान जिल्ला समिति सदस्य प्रेम नारायण भण्डारीले बर्दिया क्षेत्र नम्बरका २ का सांसद श्रीधर पोख्रेलले पहलमा आएको राहत वितरण गर्न गएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बारबर्दियामा रहेका बाढी पीडित परिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएपछि राहत वितरण कार्यक्रममा पुगेको हुँ । राहत वितरण कार्यक्रम राजनीतिक उदेश्यले भन्दा सहयोग गर्ने भावनाले गरिएको हो। ’
राहत वितरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको नेताहरू सहभागिता रहेको भएता पनि जनप्रतिनिधिलाई खबर नगरिएको भण्डारी स्वीकार गर्नुभयो। उहाँले भन्नुभयो, ‘ राहत वितरणमा गर्दा केही कमजोरी भएको छ । त्यसलाई आगामी दिनमा सुधार गरेर जानेछौँ ।’
बर्दिया क्षेत्र नम्बर २ का सांसद श्रीधर पोख्रेलले भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहिन व्यक्तिको परिवारलाई भेटघाट गर्न जाने क्रममा परिवारले भोग्दै आएको समस्या देखेपछि रसुवा पठाउनका लागि ठाकुरबाबा नगरपालिकाका स्थानीयले संकलन गरेको राहत सामाग्री वितरणका लागि सहजीकरण गरिएको बताउनु भयो । ‘ राहत सङ्कलन अभियानमा जोडिनु भएकी चाँदनी रावत र पूर्मिमा पौडेलसँग सरसल्लाह गरेर राहत सामाग्री गेरूवा र बारबर्दिया पठाइएको हो,’ उहाँले भन्नुभयो, ‘ राहत सामाग्री लगेर दिदाँ पीडितको घरमा लगेर दिनुहोला र ठाकुरबाबा स्थानीयले सङ्कलन राहत भएको हुँदा त्यहाँ मेरो नाम पनि उल्लेख नगर्नु होला भनेको थिए ।’
राहत वितरणका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समन्वयको भूमिका निर्वाह गरेको भएपनी ठाकुरबाबाका स्थानीयले राहत सङ्कलन गरेको हुँदा उनले स्थानीय पनि धन्यवाद व्यक्त गर्नुभयो। राहत वितरणका क्रममा गर्दा एक ठाउँमा पीडितलाई बोलाएर राहत वितरण गरिएको थाहा पाएपनि अरू थप जानकारी नभएको सांसद पोख्रेलले बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी गेरुवा गाउँपालिकाका सभापति हुकुम बहादुर चलाउनेले राहत वितरण पार्टीको चुनाब चिन्ह अंकित टोपी र टिसर्ट लगाएर आएको व्यक्ति पार्टीको सदस्य नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ राहत वितरण गर्दा पार्टीको चुनाब चिन्ह अंकित टोपी र टिसर्ट लगाएर आउने व्यक्ति पार्टीको होइन । टोपी र टिसर्ट लगाएर आउने व्यक्ति पार्टी नभएर बाहिरी व्यक्ति हुन ।’
राष्ट्रिय स्वतन्त्र पार्टी गेरुवा गाउँपालिकाका सभापति चलाउनेले टोपी र टिसर्ट लगाउने व्यक्ति पार्टीको नभएको दाबी गरेपनि पार्टीको चुनाव चिन्ह अंकित टिसर्ट लगाउने व्यक्ति जिल्ला प्रहरी कार्यालयमा गएर राहत सामाग्री गाडीमा लोड गर्दै गरेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीयले उठाएको राहत सामाग्री सांसद पहल भन्दै गेरुवा गाउँपालिका र बारबर्दियामा वितरण गरेका थिए ।


