
कृष्णसार अनलाइन । बर्दियामा छुट्टाछुट्टै सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा राजापुर नगरपालिका ४ का ६० वर्षीय धनीराम चौधरी र ठाकुरबाबा नगरपालिकाका १ भुरीगाउँका ४१ वर्षीय दीर्घ देबकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
सोमबार राति साढे २ बजेतिर हुलाकी सडकखण्डअन्तर्गत १४ नम्बर खल्ला भन्ने स्थानमा सानोश्रीबाट गुलरियातर्फ आउँदै गरेको भे.१३प ३५९१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक देवकोटा गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लगिएको देवकोटाको राति साढे ३ बजे मृत्यु भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

यसैगरी, आइतबार बिहान साढे १० बजे राजापुर नगरपालिका– ४ स्थित भन्सार चोकमा भे.१ज १८६८ नम्बरको गाडीको ठक्करबाट घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। बाँकेको खजुरा गाउँपालिका– ३ का ४३ वर्षीय तिलक शर्माले चलाएको गाडीको ठक्करबाट चौधरी घाइते भएका थिए। राजापुरमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगन्जमा रहेको सञ्जीवनी कलेज अफ मेडिकलमा लगिएको थियो। उपचारकै क्रममा चौधरीको सोमबार बिहान करिब ५ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनु भयो । घटना लगत्तै प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।


