
यज्ञप्रसाद सापकोटा
बर्दिया,२६ जेठ
बर्दियामा घाईते पोथी बाघ नियन्त्रणमा लिईएको छ । जिल्ला वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले खुट्टामा चोट लागेर समस्या ग्रस्त पोथी वयस्क बाघलाई नियन्त्रणमा लिईएको हो ।
मधुवन नगरपालिका वडा नं १ स्थीत गणेशपुर सिसहिनिया सामुदायिक वनको ओराही खोलाको आसपासमा बाघ नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले बताउनु भयो । उहाँका अनुसार पोथीबाट खुट्टामा चोट लागेको हुनाले शिकार गर्न नसक्ने अवस्थामा देखिएको छ । सहज रुपमा शिकार गर्न नसक्ने हुनाले मानिस र पशुचौपायलाई आक्रमण गरेको हुन सक्ने अनुमान गरीएको छ । नियन्त्रणमा लिईएको बाघ उपचार र व्यवस्थापनका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा पठाईएको सहायक वन अधिकृत शर्माले बताउनु भयो ।
केही समय अगाडी मधुवन नगरपालिका वडा नं २ कि कौशिला पालको बाघको आक्रमणबाट मृत्यु भएको थियो । कौशिलालाई आक्रमण गरेको स्थान र बाघ फेला परेको स्थान ओराही खोला वारी पारी हो । गत सोमबार मधुवन नगरपालिका २ कै ४१ बर्षिया अस्मिता थारुलाई बाघले आक्रमण गर्दा घाईते भएकी थिईन् । उनको उपचार भईरहेको छ ।
अस्मितालाई बाघले आक्रमण गरेपछि बाघलाई नियन्त्रणमा लिएर स्थानान्तण गर्न माग गर्दै मधुवन नगरपालिका २ ओराली बजारमा हुलाकी सडक अवरुद्ध गरेका थिए । जिल्ला वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले बुधबार देखि बाघको खोजी कार्य सुरु गरेको थियो । सो क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनिया घाट वाल्डलाईफ सेन्चुरी जोड्ने खाता जैविक मार्ग अन्र्तगत पर्दछ ।


