बर्दिया । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बर्दियाले सहित मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा बर्दिया अस्पतालका ४५ जना बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम गरेको छ ।
सहिदहरुको स्मृतिमा यस अघिका वर्षहरूमा रक्तदान, राहत वितरण लगाएतका कार्यक्रम गरिरहेको संगठनले यस वर्ष अस्पताल भित्रका इमरजेन्सीका, इन्डोर र सुत्केरी कक्षका बिरामीहरूलाई फलफूल वितरण गरेको हो । फलफूल वितरण गर्दै संगठनले सम्पूर्ण बिरामीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
विभिन्न संघ संगठनले गर्ने यस्ता क्रियाकलापले अस्पतालका बिरामीहरूलाई थोरै भएपनि सहयोग हुने अस्पतालका व्यवस्थापक बसन्त खनालले बताउनु भयो । उहाँले सबै सहयोगी हातहरुले विभिन्न अवसरमा अस्पतालका बिरामीहरूलाई सहयोग गरेमा गरिब तथा विपन्न बिरामीहरूलाई सहयोग हुने बताउनु भयो ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बर्दियाका अध्यक्ष कृष्णबहादुर विष्टले बर्दिया जिल्लामा सहिद मनोज, झपेन्द्र सुरेन्द्रको सम्झनामा विगतका वर्षहरूमा रक्तदान, वृक्षरोपण, राहत वितरण गर्दै आएको बताउनु भयो । उहाँले यस बर्ष अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेर स्मृति दिवस मनाइएको बताउनु भयो । पेशागत हक हित प्राप्तिको लागि लड्दै गर्दा आफ्नो जीवन बलिदानी दिएका सहिदहरू मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र वि क सम्झनामा संगठनले स्मृति दिवस मनाउँदै आएका छन् ।
स्मृती दिवसको अवसरमा शनिबार बर्दिया र बाँकेको संयुक्त आयोजनामा नेपालमा ट्रेड युनियन आन्दोलन, इतिहास, उपलब्धि र आवश्यकता विषयक वृहत विचार गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।