प्रकाश पौडेल/ गुलरिया
विकास प्रेमी युवा समूह गुलरिया नगर समितीले बर्दिया अस्पतालमा सरसफाइ कार्यक्रम गरेको छ । छठपर्वको अवसरमा अस्पताल प्राङ्गणमा सरसफाइ गरिएको हो ।
बर्दिया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट बाल रोग विशेषज्ञ डाक्टर विश्वनाथ कुमार शाहले नियमित सरसफाइ गर्नाले धेरै रोगबाट बच्न सकिने बताउनु भयो । उहाँले सरसफाइ राख्न हरेक व्यक्तिको भूमिका रहने हुनाले डस्टबिनमा वा फोहोर फाल्ने स्थानमा फोहोर फाल्दा व्यवस्थापन गर्न सजिलो हुने बताउनु भयो ।
विकास प्रेमी युवा समूह गुलरिया नगरपालिका नगर समिति अध्यक्ष मेहमुद सिद्दिकीले नेपालीहरूको महान पर्व छठको अवसर पारेर सरसफाइ कार्यक्रम गरेको बताउनु भयो । उहाँले अस्पताल बिरामी भएर जाने ठाँउ भएकोले पनि सरसफाइका लागि अस्पताल छनौट गरिएको बताउनु भयो ।
सरसफाइ कार्यक्रममा प्रहरी, बर्दिया अस्पतालका कर्मचारी, म्यादी प्रहरी र विकास प्रेमी युवा समूहका सदस्यले सरसफाइ गरेका हुन् ।
सरसफाइ कार्यक्रम विकास प्रेमी युवा समूह गुलरिया नगर समिति आयोजना र जिल्ला प्रहरी कार्यालय बर्दिया, बर्दिया अस्पताल र सामुदायिक प्रहरी साझेदारी बर्दियाको समन्वयमा सरसफाइ गरिएको हो ।