
मधुवन ।
मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले लागूऔषध दुर्व्यसनी रोक्नका लागि सबैजना लाग्नु पर्नेमा जोड दिनु भएको छ । उहाँले एक कार्यक्रममा मधुवन नगरपालिकामा लागूपदार्थ सेवन बढ्दै गएको हुनाले सबै पक्षहरू यसको अन्त्यका लागि लाग्न आव्हान गर्नु भएको हो ।
समानता समाज केन्द्र मधुवन बर्दियाको आयोजनामा सम्पन्न लागूऔषध दुर्व्यसनी न्यूनिकरणका लागि सचेतना मूलक वृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख भाटले सो कुरा बताउनु भएको हो । उहाँले लागूपदार्थ, चोरीडकैती, बालविवाह, बहुविवाह जस्ता सामाजिक विकृतिहरू न्यूनीकरण गर्न धेरै काम बाँकी रहेको उहाँले बताउनु भयो । लागूपदार्थ सेवन न्यूनिकरणका लागि प्रतिबद्धता जनाउँदै सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताउनु भयो ।


मधुवन नगरपालिकाकी नगर उपप्रमुख अनिता चौधरीले गरिबीको कारणले पनि लागूपदार्थ दुर्व्यसनी र कारोबार बढ्दै गएको बताउनु भयो । उहाँले साथीको लहै लहैमा लागेर नबुझेर यसमा फस्ने गरेको बताउनु भयो । बालबालिकाहरूलाई कस्तो बाटोमा लैजाने भन्ने अभिभावकमा भर पर्ने कुरा भएको हुनाले अभिभावक नै चनाखो हुनुपर्ने बताउनु भयो । सबैजना चनाखो भएमा यसको अन्त्य गर्न सकिने बताउनु भयो । प्रहरीले यस्ता अपराध गरेकालाई समातेमा जनताले नै छुटाउनु पर्ने भन्दै फोन आउने गरेको बताउँदै लागू औषध दुर्व्यसनी अन्त्य गर्ने हो भने सबै जना मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बोहोराले मधुवन र बढैयाताललाई लागूपदार्थ दुर्व्यसनी तुलनात्मक रुपमा अत्याधिक भएको बताउनु भयो । बर्दियाको बढैयाताल र मधुवन लागूऔषधको हटस्पट भएको बताउँदै मधुवनमा अरु मुद्दाको तुलनामा लागू औषधका मुद्दाहरू मध्ये ६० प्रतिशत रहेको उहाँले बताउनु भयो । खुला सिमानाका कारणले भारत देखि लागूपदार्थ भित्रिने गरेको उहाँको भनाई रहेको छ । लागूऔषध प्रयोग र ओसार पसार गर्नेलाई सामान्य देखि १८ वर्ष सम्म कैद हुने कानुनी व्यवस्था रहेको बताउनु भयो ।
कार्यक्रमका सहभागीहरूले लागूपदार्थ प्रयोगको न्यूनिकरण गर्नका लागि अभिभावक, बालबालिका, विद्यालय परिवार र जनप्रतिनिधिहरू चनाखो हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा मोटिभेसनल स्पिकर क्षेत्रप्रसाद ज्ञावलीले लागूपदार्थ प्रयोगको अवस्था र यसको असर सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । भने कार्यक्रमकाे सञ्चालन महासिचव भक्तबहादुर सुनारले गर्नुभएकाे थियाे ।

समानता समाज केन्द्रका अध्यक्ष यमलाल भाटको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा विद्यार्थी अभिभावक, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी लगाएतकाको उपस्थिति रहेको थियो । समानता समाज केन्द्र मधुवन नगरपालिकामा २०७८ सालमा स्थापना भई सक्रिय रहेको छ । केन्द्रले लागूपदार्थ सँग सँगै विभिन्न सामाजिक मुद्दामा विविध कार्यक्रम गर्दै आइरहेको छ । आगामी दिनमा स्थानीय तहसँग समन्वय गरेर हरेक वडा र विद्यालयमा लागूपदार्थ सेवन न्यूनीकरणका लागि विविध सचेतनामूलक कार्यक्रम गर्ने योजना बनाएको महासचिव सुनारले बताउनु भयो ।


