बर्दिया ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दिया आफ्नै भवनमा सरेको छ । २०४८ सालमा स्थापना भएको महासंघ बर्दियाको हाल सम्म आफ्नो भवन थिएन ।
गुलरिया नगरपालिका वडा नं ७ बदलुपुरमा महासंघ जिल्ला शाखा बर्दिया भवन निर्माण भएपछि हाल सम्म भाडामा र झोलामा रहेको महासंघ भवनमा सरेको हो ।
महासंघ बर्दियाले आफ्नै भवन उद्घाटन गरी ३२ औं साधारण सभा सम्पन्न गरेको छ । गुलरिया गुलरिया नगरपालिका वडा नं ७ निवासी श्रीमती इन्दिरा देवी पोखरेलले १२ धुर जग्गा दान गरेपछि गुलरिया नगरपालिकाको ३१ लाख ५० हजार रुपैयाँको लगानीमा भवन निर्माण भएको हो । भवन निर्माण सम्पन्न भएपछि गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
महासंघको भवन उद्घाटन तथा ३२ औ साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादवले नगरपालिकाले आर्थिक सहयोग गरेको भएपनि भवन निर्माणका सम्पुर्ण काम पत्रकारहरूले नै गरेको बताउनु भयो । महासंघको भवन निर्माण गर्नु गुलरिया नगरपालिकाको दायित्व भएको हुनाले निर्माण गरेको बताउँदै महासंघको लागि अझै धेरै काम र अफिस व्यवस्थापन गर्न बाँकी रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरेले गुलरिया नगरपालिकाले महासंघको भवन निर्माणका लागि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बर्दियाका स्थानीय तहले भूमिका खेल्नुपर्ने बताउँदै महासंघ लुम्बिनी प्रदेशले बर्दियाका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि प्रदेश र केन्द्रमा पहल गर्ने बताउनु भयो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक हिक्मत बहादुर बोहोराले महासंघलाई साधन स्रोत उपलब्धता भइसकेपछि पत्रकारितामा थप प्रभावकारिता र निष्पक्षता आउनु पर्ने बताउनु भयो । समाजमा भएका विकृति विसंगति उजागर गरेर सामाजिक विकासको लागि पत्रकार अगाडी बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका वक्ताहरूले महासंघको भवन निर्माण हुनु ठुलो उपलब्धि भएको बताएका छन् । भवन निर्माण मात्र नभएर अफिस व्यवस्थापन पनि गर्नुपर्ने सहभागीहरुले बताएका छन् । बर्दिया शाखाले भवनमा उच्च प्रविधिको प्रयोग गरी पत्रकारहरूलाई सहज बनाउनु पर्ने बताईएको छ ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यको अध्यक्षतामा भएको साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, अतिथिहरूमा नेपाली काँग्रेस बर्दिया जिल्ला सभापति अरुण सिंह राठोर, जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोरा, उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देबेन्द्र पान्डे, सुरक्षा निकाय, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मेघराज सिग्देल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य डिलप्रकाश गौतम, प्रेस चौतारीका जिल्ला अध्यक्ष यज्ञप्रसाद सापकोटा, विभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकार लगायतको उपस्थीती रहेको थियो ।