मधुवन ।
सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले उन्नत बाख्रा पालन तथा खसीबोका उत्पादन उपआयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल लाइभस्टक इनोभेसन आयोजनाको आर्थिक सहयोगमा सञ्चालित उपआयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
सहकारीले उन्नत बाख्रा पालन तथा खसीबोका उत्पादन उप आयोजनाको बारेमा जानकारी गराउनका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको हो । उप आयोजनामा कार्यक्रममा सहभागी भएका ४३ जना कृषकहरूलाई हाल सम्म भएको कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै उनीहरूका जिज्ञासा सम्बोधन समेत गरिएको छ । कार्यक्रममा कृषकहरूले बाख्रा पालनको क्रममा देखिएका समस्याहरूको बारेमा जानकारी गराएका थिए ।
सानोश्री सानाकिसन कृषि सहकारी संस्थाले कृषकहरूलाई व्यवसायीक बाख्रापालनमा सहभागी बनाउनका लागि बाख्रापालन गर्ने कृषकहरूलाई सहयोग गर्दै आएको छ । नेपाल लाइभस्टक इनोभेसन आयोजनाको ५० प्रतिशत अनुदानमा बाख्रापालन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ । २०७८ भाद्र ८ गते देखि सञ्चालन भएको सो कार्यक्रममा ४३ घरपरिवार सहभागी रहेका सानोश्री सानाकिसान कृषि सहकारी संस्थाका प्रबन्धक दयाराम तिवारीले बताउनु भयो । उहाँका अनुसार उपआयोजनाको जम्मा बजेट दुई करोड मध्ये ५० प्रतिशत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र ५० प्रतिशत संस्थाका शेयर सदस्यहरूको लगानीमा सञ्चालन भएको छ ।
आयोजनाले खोर निर्माण, कम्पोस्ट मल बनाउने स्थानको निर्माण, दाना पिस्ने मेसिन र चारा मेसिन वितरण गरेको छ । त्यसैगरी बाख्रापालनमा आवश्यक विभिन्न सामाग्रीहरू, घाँसका बिउ, प्राविधिक सहयोग, तालिम गोष्ठीको आयोजना र बिमाको लागि आयोजनाले सहयोग गरेको छ । भने बाख्रा खरिद, दाना खरिद, व्यवस्थापन बापतको खर्च सम्बन्धित कृषक र सहकारीले गरेको प्रबन्धक तिवारीले बताउनु भयो ।
सार्वजनिक सुनुवाइमा बोल्दै प्रमख अतिथि तथा मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले कृषकहरूको लागि बाख्रापालन कार्यक्रम फलदायी भएको बताउनु भयो । उहाँले व्यवसायीक रुपमा लाग्ने कृषकहरूलाई नगरपालिकाले पनि सहयोग गर्दै आएको बताउनु भयो । सहकारीहरूसँग समन्वय गरेर कार्यक्रमहरू सञ्चालन गर्न नगरपालिका तयार रहेको बताउनु भयो ।
कार्यक्रमका सभाध्यक्ष तथा सानोश्री सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष धर्मराज थापाले तुलनात्मक रुपमा बाख्रापालन कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको बताउनु भयो । उहाँले सबै कृषकहरूले राम्रो व्यवसाय सञ्चालन गरेको बताउँदै कृषकहरूका समस्या समाधान गर्दै जाने बताउनु भयो । सानोश्री सानाकिसान कृषि सहकारी संस्था प्रदेश कै नमुना सहकारी भएको बताउँदै अब देश मै नमुना सहकारी बनाउने दौडमा रहेको अध्यक्ष थापाले बताउनु भएको छ ।