Division forest_Ads
Barista_Training

जिल्लामा डायलासिस सेवा नहुँदा विरामीलाई सास्ती

बर्दिया अस्पतालमा चाँडै सेवा शुरु हुन्छ : अध्यक्ष गाैतम

Geruwa GIF

बर्दिया (गुलरिया) । बर्दिया मधुवन नगरपालिका–४ का मिर्गौला रोग पीडित हरिराम चौधरी हप्तामा ३ पटक डायलासिस गराउनु पर्ने विरामी हुनुहुन्छ । उहाँ डायलासिसका लागि घर देखि टाढा रहेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कोठा भाडा लिएर बस्नु भएको छ । घरदेखि टाढा कोठा भाडा लिएर उपचारका लागि बस्नु पर्दाको पीडा भनिसाध्यै छैन ।

गुलरिया नगरपालिका–२ की मिर्गौला रोग पीडित पवित्रादेवी सुवेदी हप्तामा दुई पटक डायलासिस गर्न नेपालगञ्ज मेडिकल कलेज कोहलपुर धाउनु हुन्छ । दुवै मिर्गौलाले काम गर्न छोडेपछि उहाँ अस्पताल धाउन लागेको ३ बर्ष वितिसक्यो ।

त्यस्तै बारबर्दिया नगरपालिका–६ का कृष्णबहादुर सुनार दुवै मिर्गाैलाले काम गर्न छाडेपछि तीन बर्ष अघि देखि हप्तामा २ पटक डायलासिस सेवा लिइरहनु भएको छ । उहाँ पनि उपचारका लागि कोठा भाडा लिएरै कोहलपुरमा बस्दै आउनु भएको छ ।

उपचारका लागि चौधरी, सुवेदी र सुनार जस्ता बर्दियाका अन्य विरामीहरु नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, भेरी अस्पताल नेपालगञ्ज, भरतका बहराइच र लखनउ लगाएत काठमाडौँ र अन्य स्थानका अस्पतालमा जान बाध्य छन् ।

आ.व.२०७८/०७९ मा विपन्न नागरिक औषधी उपचार कोषबाट औषधी उपचार सेवा लिनका लागि जिल्लाका ८ वटा पालिकाबाट दिइएको सिफारिसलाई आधार मान्ने हो भने बर्दियामा ८७ जना मिर्गौला रोग पीडित विरामीहरु रहेका छन् ।

ती सबै विरामीहरु जिल्लामा डायलासिसको सुविधा नहुँदा चौधरी, सुवेदी र सुनारकोे झै चर्को आर्थिक भार व्यहोरेर जिल्ला देखि बाहिरका अस्पतालमा उपचार गराउन बाध्य छन् ।

Basgadhi PSA_final

बर्दियामा विरामीको संख्या धेरै भएपनि बर्दियामा डायलासिसको सुविधा छैन । सहजै उपचार सम्भव नभएपछि मिर्गौला पीडितहरु जीवन र मरणको दोसाँधमा छन् । मिर्गौला पीडित पवित्रा सुवेदीले भन्नुभयो, ‘उपचार सहज छैन । उपचारका लागि जिल्ला बाहिर जानु पर्छ । कम्तिमा आफ्नै जिल्लामा रहेको अस्पतालमा यसको सुविधा भएको भए हामीलाई ठूलो राहात हुन्थ्यो ।’

घर नजिकको अस्पतालमा डायलासिस सेवा भएको भए छाक टार्नै मुस्किल रहेको आफ्नो परिवारलाई केही मात्रामा भएपनि खर्चमा कमी हुने अर्का पीडित हरिराम चौधरीको भनाई छ ।

बर्दिया अस्पतालमा चाँडै सेवा शुरु हुन्छ : अध्यक्ष गाैतम

बर्दिया अस्पताल विकास समिति अध्यक्ष नारायण गौतमले डाइलासिस सेवा सञ्चालन गर्नका लागि निर्णय गरेर लुम्विनी प्रदेश सरकारसँग डाइलासिस मेसिन माग गरेको र लुम्विनी प्रदेश सरकारले पाँच वटा डाइलासिस मेसिन दिने निर्णय गरिसकेकोले अब छिट्टै बर्दिया अस्पतालबाट नै डायलासिस सेवा उपलब्ध हुने बताउनु भयो ।

जिल्लामै यो सेवा शुरु गर्न सकिएमा मृर्गौला पीडित विरामीको उपचारमा सहज हुने र बाहिर बस्नु पर्दा हुने खर्चमा कमी हुने अध्यक्ष गौतमको भनाई छ ।

अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेले अस्पतालमा मृगौला रोगका बिरामीको उपचार गर्न आश्यक पर्ने भौतिक संरचना पर्यात रहेको बताउँदै लुम्बिनी प्रदेश सरकारले डाइलासिस मेसिन दिएपनि जनशक्तिको अभाव हुन सक्ने भएकोले दक्ष जनशक्ति व्यवस्थापन गर्न सरोकारवाला सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

साथै उहाँले सबैको सहयोग रहेमा मृगौला रोगको उपचार अस्पतालबाट गर्न सकिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.