यज्ञप्रसाद सापकोटा
बर्दिया ।
गुलरिया नगरपालिका ५ नं वडा कार्यालयले जेष्ठनागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वडा कार्यालयले ७० वर्ष उमेर पुगेका जेष्ठनागरिकलाई नेपालगञ्ज र कोहलपुर सम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको हो ।
५ नं वडा भित्रका ७० बर्ष उमेर पुगेका जेष्ठनागरिकलाई दुई पटक सम्म एम्बुलेन्स सेवा दिने वडाध्यक्ष मुम बहादुर मल्लले बताउनु भयो । वडा कार्यालयले कार्यविधि बनाई बजेट विनियोजन गरेर सेवाको सुरुवात गरिएको उहाँले बताउनु भयो । बजेट वितरणमुखी बनाउन भन्दा पनि गरीब जेष्ठनागरिकलाई थोरै भएपनि राहत होस भनेर यस कार्यको थालनी गरेको वडाध्यक्ष मल्लले बताउनु भयो ।
वडा कार्यालयको कार्यप्रति हर्षित हुँदै गुलरिया नगरपालिका वडा नं ५ का सेवाग्राही भागीराम थारूले एम्बुलेन्स भाडामा बचेको पैसा अरु औषधी उपचारमा खर्च गर्न सहज हुने बताउनु भयो । जेष्ठनागरिकहरु एम्बुलेन्स खर्च नपाएर जिल्ला भन्दा बाहिर उपचार गर्न जान नपाउने समस्याको समाधान हुने भएको छ ।
५ नं वडा कार्यालयले चालु आर्थिक वर्षको लागि एम्बुलेन्स भाडाको लागि खर्च भनेर ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियासँग सम्झौता गरेर जेष्ठनागरिकलाई नेपालगञ्ज र कोहलपुर पुर्याउने व्यवस्था गरिएको वडा सचिव घनश्याम अधिकारीले बताउनु भयो । गत मंसिर २९ गते देखि आगामी असार २० गते सम्मका लागि एम्बुलेन्स सेवा दिने गरी सम्झौता गरिएको वडा सचिव अधिकारीले बताउनु भयो ।