प्रकाश पौडेल ।
बर्दिया । मधुवन नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । मधुवन नगरपालिकाको आयोजना र परिमार्ग मिडिया सेन्टरको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिकाले दिने गरेका सेवा सुविधाका सवालमा छलफल गरिएको थियो । कार्यक्रमका सहभागीहरूले नगरपालिकाको सेवा सुविधा र काम कारवाहीका बारेमा सवाल उठाएका थिए ।
नेपाली कांग्रेसका नगर सचिव कुलबहादुर खड्काले कृषकको जीवन स्तर उठाउन समयमा मल र कृषि बजारको व्यवस्थापन गर्नु पर्ने बताउनु भयो । उहाँले नगरपालिकाले फोहोर व्यवस्थापनमा उचित ध्यान दिनुपर्ने बताउँदै नगरपालिकाभित्र सडक बनाउँदा नाली सहितको सडक बनाउनु पर्नेमा जोड दिनु भयो ।
नेकपा एमालेका नगर अध्यक्ष दुर्गा वलीले नगरपालिका भित्र सञ्चालनमा रहेका लघुवित्तको ब्याजदर महँगो भएकोले राष्ट्र बैंकले तोकेको अनुसारको ब्याजदरमा कारोबार सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले परम्परागत खेतीको अन्त्य गरेर आधुनिक तरिकाले खेती गर्ने किसान प्रोत्साहित गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । पालिका भित्र भएका सञ्चालनमा रहेका विकास निर्माणका काम गुणस्तरहीन भए सो गुणस्तरहीन काम गर्ने दोषी जो कोही भए पनि कारवाहीको दायरामा ल्याउनु पर्नेमा जोडदिनु भयो ।
नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष हरिहर चौधरीले दीर्घकालीन गुरु योजना नहुदाँ बनेका भौतिक संरचना प्रत्येक बर्ष भत्काउनु परेको बताउनु भयो । उहाँले विकास निर्माणका कामलाई दीर्घकालीन रुपमा टिकाइ राख्न गुरुयोजना बनाएर लाग्नु पर्ने बताउनु भयो । उहाँले नागरिक वडा पत्र जस्तै विकासको आयोजनाहरू पनि वडा कार्यालय र नगरपालिकामा सबैले देख्ने गरेर राख्नु पर्ने बताउनु भयो ।
मधुवन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मेघबहादुर गुरुङले वडा नं. ८ मा कागजी उपभोक्ता बन्न नदिने बताउनु भयो । साथै उहाँले जनताले समस्या लिएर आँउदा पनि आर्थिक अधिकार नभएकोले सहयोग गर्न नसकिएकोले वडालाई आर्थिक अधिकार दिनुपर्नेमा जोड दिनु भयो ।
मधुवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले अपाङ्गता भएका व्यक्तीहरु लाई सेवा लिन कठिनाइ भएको हुनाले भवनमा लिफ्टको व्यवस्था गरी सहज बनाउने प्रतिबद्धता जनाउनु भयो । उहाँले सेवाग्राहीको भावनालाई सम्मान गर्दै उनीहरूको समस्याहरू क्रमश समाधान गरिने बताउनु भयो ।
मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीले राजनीतिक दल, नागरिक समाज, संघ/संस्था, जेष्ठ नागरिक, बाल क्लव लगाएको सल्लाह र सुझाव काम गर्ने बताउनु भयो । उहाँले न्यायिक समितिमा परेको उजुरी सम्बन्धित वडा र टोलमा गएर मिलाउने वा मुद्दाको फैसला गर्ने बताउनु भयो ।
मधुवन नगरपालिकाको नगरप्रमुख तेजबहादुर भाटले नागरिक प्रतिवेदनबाट ४० प्रतिशत सन्तुष्टि र ६० प्रतिशत असन्तुष्टि आएकोले अब अझ राम्रो गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले जनप्रतिनिधि, सामाजिक अभियान्ता, राजनितिक दल र दलका नेता र कर्मचारी कसैलाई गल्ती गर्ने छुट नभएको बताउनु भयो । उहाँले अबको दिनमा जनताको गुनासो आउन नदिने र भ्रष्टचार मुक्त नगरपालिका बनाउन लाग्ने बताउनु भयो ।
मधुवन नगरपालिकाको विभिन्न वडामा गरिएको सर्वेक्षण प्रतिवेदनको आधारमा सार्वजनिक सुनवाई कार्यक्रममा गरिएको हो । कार्यक्रममा स्थानिय बासिन्दा, नगरपालिकाका कर्मचारी र सञ्चारकर्मीको उपस्तिथी रहेको थियो ।