प्रकाश पौडेल
राजापुर ।
थारू समुदायको मुख्य पर्व माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिने भएको छ । त्यसैगरी बर्दियाको राजापुर नगरपालिकाले माघ तिन गते पनि नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरूमा स्थानीय बिदा दिएको छ ।
लुम्बिनी प्रदेश सरकारको गत पुष २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले माघीको अवसरमा प्रदेश भरी बिदा दिने निर्णय गरेको हो । थारू समुदायले नयाँवर्षको रुपमा मनाउने माघी पर्व तिन दिन सम्म मनाउने चलन रहेको छ । थारू बाहुल्यता रहेको यस प्रदेशमा गत वर्ष देखि माघीको अवसरमा दुई दिन बिदा दिने गरेको हो । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरेर सार्वजनिक बिदा भएको जानकारी गराएको छ ।
त्यसैगरी माघी पर्वको अवसर पारेर राजापुर नगर कार्यपालिकाले गत पुष २५ गते निर्णय गरी थप एक दिन बिदा दिएको छ । नगरपालिकाले माघ ३ गतेका दिन स्थानीय बिदा दिएको हो । राजापुर नगरपालिकामा नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरू बन्द हुने छन् ।