काठमाडौं ।
गत निर्वाचनमा झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका देवराज घिमिरेलाई प्रतिनिधि सभाले सभामुखमा निर्वाचित गरेको छ । प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई सभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत परेपछि घिमिरे निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहेका थिए ।
घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।
सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।