नसर्ने रोग व्यवस्थापन गर्न ‘पेन प्लस’ शुरु
मुटु, मधुमेह, स्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयघात, सिकलसेल एनिमिया जस्ता नसर्ने रोगको परीक्षण, उपचार र औषधी निशुल्क
कृष्णसार सवाददाता / बर्दिया । नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्युनिकरणका लागि बर्दिया अस्पतालमा ‘पेन प्लस’ परियोजना शुरु गरिएको छ ।
पेन प्लस परियोजना शुरु भएपछि मुटु, मधुमेह, स्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयघात, सिकलसेल एनिमिया जस्ता नसर्ने रोगको परीक्षण, उपचार र औषधी निशुल्क हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पछिल्लो समय नेपालमा नसर्ने रोगका कारण अकालमा मृत्यु हुने गरेको तथ्याङ्कका आधारमा नसर्ने रोगलाई पनि सरकारी तवरबाटै उच्च प्राथमिकतामा राखि बर्दिया अस्पतालबाट सेवा शुरु गरिएको बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारीमा परियोजना शुरु गरिएको हो ।
‘पेन प्लस’ अन्र्तगत अस्पतालमा चेकजाँच गरिएका जटिल किसिमका विरामीलाई अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर गरिने व्यवस्था समेत रहेको सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । सचिव डा. पोखरेलले पेन–प्लस कार्यक्रम बर्दिया अस्पतालमा सौभाग्यवस सुरुवात भएकोले यसवाट बर्दियाबासीले नसर्ने रोगको उपचारमा लाभ लिनसक्ने बताउनु भयो ।
गुणस्तरीय उपचार सेवा प्रदान गर्नका लागि चुनौती रहेको अवस्थामा पेन–प्लस कार्यक्रमले प्रदान गर्ने सेवाका कारण विरामीहरुलाई उपचारमा सहज हुने काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्राध्यापक डा. भगवान कोइरालाको भनाई छ ।
सेवा शुभारम्भ कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले बर्दियालाई सिकलसेल रोगको उपचारको हबको रुपमा विकास गर्नुपर्र्ने र यसका लागि ससदमा आवाज उठाउने बताउनु भयो ।
बर्दिया अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतमले अस्पताललाई एक सय शैयामा स्तरोन्ती गरी नर्सिङ्ग र प्यारामेडिकल अध्ययन गर्ने स्विकृत माग गर्नुभयो ।
यस अघि नै सञ्चालनमा रहेको पेन कार्यक्रम ७७ वटै जिल्लामा संचालन भएको र त्यही कार्यक्रमलाई परिमार्जित गरि ‘पेन प्लस’ कार्यक्रम बर्दिया सहित ६ जिल्लामा शुरु भएको छ ।