गुलरिया ।
बर्दियाका दुई ओटा पालिकामा दुई सय ५० युवा उद्यमी तयार गरिने भएको छ । लुर्थन वल्ड रिलिफको सहयोगमा दलित महिला उत्थान संघ बर्दियाले सञ्चालन गर्ने युवा तथा महिला उद्यमशीलता विकास परियोजनाले युवा उद्यमी तयार गर्ने भएको हो ।
परियोजना गुलरिया नगरपालिका र मधुवन नगरपालिकाका सबै वडाहरूमा सञ्चालन हुने भएको हो । गुलरिया नगरपालिकामा एक सय २५ र मधुवन नगरपालिकामा एक सय २५ गरी दुई सय ५० युवा तथा महिला उद्यमी तयार गरिने परियोजनाको लक्ष्य रहेको छ । परियोजनामा १६ वर्षदेखि ४० वर्ष सम्मका युवा तथा महिलाहरू सहभागी हुन पाउने छन् ।
उद्यमशीलताको माध्यमबाट युवा तथा महिलाको आर्थिक अवस्था सुधार गर्ने लक्ष्यका साथ सञ्चालन गरिने परियोजना जनवरी २०२३ देखि जनवरी २०२५ सम्म सञ्चालन हुने भएको हो । लुथर्न वल्ड रिलिफको एक लाख ४० हजार अमेरिकी डलर आर्थिक सहयोगमा सञ्चालन हुने दलित महिला उत्थान संघ बर्दियाकी कार्यक्रम संयोजक विष्णु नेपालीले बताउनु भयो । उहाँले परियोजनाले नयाँ उद्यमहरुको सुरुवात, साना र लघु उद्यमहरुमा सहयोग, बजार व्यवस्थापन तथा बजारीकरणमा सहयोग गर्नुका साथै उद्यमीहरूलाई वित्तिय तथा सहकारी क्षेत्रहरू सँग सम्बन्ध विस्तार तथा सहकार्य गरिने बताउनु भयो ।
परियोजना सञ्चालनका लागि उद्यम क्षेत्रको बजार विश्लेषण, युवा तथा महिला उद्यमीहरूको पहिचान गरी उद्यमको छनौट तथा तालिम प्रदान, व्यवसायका लागि सामाग्री सहयोग र उत्पादित बस्तुको बजारीकरणमा सहयोग गर्ने योजना रहेको छ । त्यसैगरी युवा तथा महिलाहरूलाई व्यवसायीक रुपमा लाग्नका लागि वित्तिय साक्षरता तालिम, वित्तिय व्यवस्थापन तालिम, व्यवसायिक योजना तयार, बैंक र सहकारीसँग समन्वय गरी लगानीमा सहजीकरण गर्ने योजना रहेको कार्यक्रम संयोजक नेपालीले बताउनु भयो ।
दलित महिला उत्थान संघले परियोजनाको शुभारम्भ बैठकको आयोजना गरी वडा र गुलरिया नगरपालिकालाई जानकारी गराएको छ । कार्यक्रमका सहभागीहरुले परियोजनाको स्वागत गर्दै कृषि उत्पादनमा आधारित उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथी सावित्रा गौतमले तालिम लिने तर काम नगर्ने परिपाटी बढि देखिएको बताउनु भयो । उहाँले भन्नु भयो –‘सरकारी कार्यालय नगरपालिका र संघ संस्थाहरुले दिएको तालिम लिएर सबैले काम गर्ने हो भने अहिले कोही पनि बेरोजगार नहुनुनपर्ने ।’ तालिम आवश्यक भएका सहभागीलाई छानौट गर्न र उनीहरुलाई व्यवसायी बनाउनका लागि आयोजकलाई आग्रह गर्नु भयो ।
दलित महिला उत्थान संघ बर्दियाकी अध्यक्ष खिमा वि.कको अध्यक्षतामा सञ्चालन गरीएको शुभारम्भ बैठकमा गुलरिया नगरपालिकाकी अध्यक्ष सावित्रा गौतम प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा गुलरिया नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडासदस्य, विभिन्न विषयगत कार्यालय, पत्रकार, संघसंस्था प्रतिनिधि लगाएतकाको उपस्थीती रहेको थियो । कार्यक्रममा कोषाध्यक्ष विवा वि.कले स्वागत मन्तव्य राख्नु भएको थियो ।