यज्ञप्रसाद सापकोटा
बर्दिया, १९ फागुन
बर्दियामा ११ बुँदे घोषणा पत्र जारी गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खानेपानी आयोजनाहरूको सञ्चालनमा एकरूपता ल्याउने उद्देश्यका साथ खानेपानी आयोजनाका समितिहरू, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेले सशक्तरूपमा घोषणापत्र जारी गरेका हुन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोगमा फेडवासन बर्दियाले आयोजना गरेको कार्यक्रममा बर्दिया जिल्लाका सञ्चालनमा रहेका र निर्माणधीन र खानेपानी आयोजनाहरूको समितिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोजनामा देखिएका समस्या समाधानका उपायको बारेमा व्यापक छलफल भएको थियो । छलफलको निष्कर्ष सहित घोषणापत्र जारी गरिएको फेडवासन बर्दियाकी अध्यक्ष टिका सम्सेलीले बताउनु भयो ।
घोषणा पत्रमा बर्दिया जिल्लाका सम्पूर्ण खानेपानी आयोजना र सो आयोजना सञ्चालन गर्ने उपभोक्ता समितिहरूको कार्य र व्यवस्थापनमा बिच एकरूपता ल्याउने उल्लेख गरिएको छ । त्यसैगरी घोषणापत्रमा खानेपानी सञ्चालन भएका आयोजना क्षेत्रलाई सुरक्षित खानेपानी तथा पूर्ण सरसफाइ युक्त क्षेत्र घोषणा गर्ने गराउने, बर्दिया जिल्लामा सञ्चालित सबै खानेपानी तथा सरसफाइ आयोजनाहरूको मासिक शुल्क र जडान शुल्कमा एकरूपता ल्याउने, आयोजना सञ्चालन र मर्मत सम्भारका लागि तोकिएको मर्मत सम्भार कोष अनिवार्य बैंकमा जम्मा गर्नु पर्ने, अपनत्वको कायम गर्नको लागि जनश्रमदान परिचालन गरि पाइपलाइन खन्ने पुर्ने कार्य गर्ने, सबै उपभोक्ता समितिहरूले विधान दर्ता गरी गराइ आयोजना कार्यन्वयन गर्ने उल्लेख गरिएको छ ।
उपभोक्ता समितिहरूको विधान बमोजिमको साधारणसभा र अधिवेशन गर्ने, आर्थिक बर्ष समाप्त भएको तिन महिना भित्र लेखा परिक्षण गराइ सम्बन्धित स्थानमा बुझाउनु पर्ने, विधान तयार गर्दा कार्यसमितिको अवधि चार वर्षको बनाई जिल्ला भरी एकरूपता ल्याउनु पर्नेमा जोड दिइएको छ । त्यसैगरी आयोजना सम्पन्न गर्ने गराउने कार्यमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, स्थानीय पालिका र खानेपानी तथा सरसफाइ उपभोक्ता समिति लगायतको सक्रियतामा बैठक भेला राखी आयोजनामा सचेतना कार्यक्रमलाई निरन्तरता दिने समेत उल्लेख गरिएको छ ।
घोषणा पत्र सँगै बर्दिया जिल्लामा खानेपानी धाराको मासिक महशुलमा एक रूपता ल्याइने भएको छ । पानीको महसुल १० युनिट सम्मको एक सय २० देखि एक सय ५० सम्म र सो भन्दा माथि प्रतियुनिट २० रुपैयाँ कायम गरीने भएको छ । सडक निर्माणको क्रममा पाईपलाईनको धेरै नोक्सान भएको देखिएपछि स्थानीय पालिकाहरूसँग समन्वय गरि बाटोको मापदण्ड निर्धारण भए अनुसार पाइपलाइन विछ्याउने कार्यलाई प्राथमिकता दिने घोषणा समेत गरिएको छ । आयोजना निर्माण भएपनि खानेपानी धारा जडान गर्ने क्रम कमि देखिएकोले एक घर एक धारा अनिवार्य रुपमा जडान गर्न प्रोत्साहित गरिने भएको छ ।
खानेपानी डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानेले बर्दियामा पाईपलाईनबाट पानी खाने जनसंख्या १२.३६ प्रतिशत मात्र रहेको बताउनु भयो । खानेपानी आयोजना निर्माण भएपनि उपभोक्ताले धारा जडान नगर्दा पाईपलाईनको पानी खाने संख्या कमी भएको बताउनुभयो । खानेपानी मौलिक अधिकार भएको हुनाले पानी सबैले खान पाउनु पर्ने बताउँदै जडान खर्च नभएर पानी नखाएका उपभोक्ताहरुलाई दुई किस्तामा जडान खर्च लिएर पनि धारा जडान गर्न उपभोक्ता समितिलाई अनुरोध गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथी बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले उपभोक्ता समिति, फेडवासन र खानेपानी सरसफाइ डिभिजन कार्यालय सबै मिल्ने हो भने आयोजना सञ्चालन गर्न गाह्रो नभएको बताउनु भयो । उहाँले हाल सञ्चालनमा रहेका आयोजनाबाट पनि जनताले धेरै सेवा नलिएको पाईएको बताउँदै सबै मिलेर सबै उपभोक्ताहरुलाई खानेपानीको पहुँचमा पुर्याउनु पर्ने बताउनु भयो ।
फेडवासन बर्दियाकी अध्यक्ष टिका सम्सेलीकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रममा फेडवासनका केन्द्रिय सदस्य चन्द्रमणी पौडेल, फेडवासनका लुम्बिनी प्रदेश सदस्य कमानसिंह वली र कृष्णा शर्मा, उपभोक्ता समितिका पदाधिकारी,सञ्चारकर्मी लगाएतकाको उपस्थिति रहेको थियो ।