यज्ञप्रसाद सापकोटा
बर्दिया ।
नेकपा एमालेको ७५ औ स्थापना दिवसको अवसरमा नेकपा एमाले नगरकमिटी गुलरियाले शहीद , जनआन्दोलनका घाईते र ज्येष्ठ नागरिक गरी ९२ जनालाई सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी नगरकमिटी गुलरियाले पार्टीको काममा अनवरत रुपमा लाग्दै गर्दा शहीद हुनु भएका र निरन्तर पार्टीको काममा लागिरहनु भएका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
कार्यक्रममा शहीद यामलाल लामिछाने, नागरिक शहीद गोविन्द पाण्डे, स्व. हरिप्रसाद ज्ञवाली, स्व. दिपबहादुर राना, स्व. दिनेश चन्द्र शर्मा र स्व. रविलाल पाध्यालाई सम्मान गरिएको थियो । उहाँहरूको सम्मान पत्र आफन्तहरूले बुझ्नु भएकाे थियाे। त्यसैगरी जनआन्दोलनका घाईते पार्वती कोइराला र सुर्दशन के.सी. लाई प्रमाण पत्र दिई खादा ओढाएर सम्मान गरिएको थियो ।
त्यसैगरी पार्टी केन्द्रिय सदस्य तथा पोलिटब्युरो सदस्य एवं मिसन ग्रासरुट अभियानका गुलरिया नगरपालिकाका इन्चार्ज नरुलाल चौधरीलाई समेत सम्मान गरिएको थियो । स्थापनाकाल देखि नै अनवरत रुपमा पार्टीको अभियानमा संलग्न भएका गुलरिया नगरपालिकाका जेष्ठ नागरीकहरुलाई टिका लगाई, खादा ओढाएर र सम्मान पत्र दिएर सम्मान गरीएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य नरुलाल चौधरीले लामो समय देखि आफ्नो बहुमूल्य समय कम्युनिष्ट आन्दोलनमा संलग्न जेष्ठनागरिक र शहीदहरुलाई सम्मान व्यक्त गर्नु भयो । केही समय पछि नेपालमा अरु पार्टीहरूको अस्तित्व नै खतरामा पर्ने बताउँदै नेकपा माओवादी केन्द्र कसैको टेको विना अडिन नसक्ने भएको बताउनु भयो । नेकपा एमाले यती धेरै पार्टी एक भएर पछि लाग्दा समेत समानुपातिकमा सबैभन्दा धेरै मत पाएको बताउँदै आगामी चुनावमा सबै पार्टी लागेपनि एमाले अगाडि आउने बताउनु भयो ।
युवाहरूलाई व्यवसाय सँग जोडेर पार्टीमा लैजानु पर्ने बताउँदै युवाहरूलाई फरक तरिकाले प्रशिक्षण गरी काम र व्यवसाय प्रतिको सकारात्मक भावना जागृत बनाउनु पर्ने समय आएको प्रमुख अतिथि चौधरीले बताउनु भयो । नेकपा एमाले गुलरिया नगरकमिटीका अध्यक्ष अम्मरबहादुर खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा पोलिटब्युरो सदस्य चौधरी, लुम्बिनी प्रदेश सचिव लिला राना, जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्य डिल्ली राम अर्याल, जिल्ला सहसचिव टिका सम्सेली लगाइएकाको उपस्थिति रहेको थियो ।