

प्रकाश पौडेल
गुलरिया ।

नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले चेकजाँचमा कडाइ गरेपछि नौ महिनामा एक हजार सात सय ६४ जना कारवाहीका परेका छन् । कारवाही परेका ग्राहकबाट रु एक करोड ९८ लाख ४२ हजार सात सय ९१ राजश्व संकलन भएको हो ।
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म विद्युत प्राधिकरणले सो राजश्व संकलन गरेको हो । कयौँ स्थानमा विद्युत चोरी गरेर सिँचाइ गर्ने, बत्ती बाल्ने लगायतका घरयासी काममा प्रयोग गरेको फेला परेका छन् । विद्युत चोरी गर्नेलाई पक्राउ गरी सामानहरू जफत गर्नुका साथै जरिवाना समेत गरेको विद्युत कार्यालयले जनाएको छ ।
गुलरिया वितरण केन्द्रका सहायक प्रबन्धक नारायण अर्यालले विद्युत महशुल ६० दिन सम्म नतिर्ने र बिद्युत् चुहावट गर्ने ग्राहकलाई जरिवाना तिराई राजश्व संकलन गरिएको बताउनु भयो । उहाँले जुन प्रयोजनको लागि मिटर लिएको हो सोही प्रयोजनमा प्रयोग गर्न ग्राहकलाई उत्प्रेरित गर्ने काम कार्यालयले गरिरहेको बताउनु भयो ।
गत आर्थिक वर्षमा २०७८/०७९ मा एक हजार आठ सय ७३ जना विद्युत कार्यालयको चेकजाँचको क्रममा कारवाहीमा परेका थिए । कारवाहीमा परेको ग्राहकबाट रु दुई ३३ लाख ११ हजार छ सय ६८ संकलन गरिएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा सात सय १५ जना कारवाहीमा परेका थिए जसबाट ९७ लाख २९ हजार दुई सय १६ रुपैयाँ राजश्व संकलन भएको थियो ।
विद्युत चोरी गर्नेलाई चेकजाँच गरी कारवाही गर्न थालेपछि चोरी गर्नेको संख्या घट्दै गएको विद्युत कार्यालयले जनाएको छ ।