राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै
रवि आज पुन: रास्वपा संसदीय दलको नेता बन्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।
उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्न लागेको हो ।
जसअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।
निर्वाचित भएर आए पछि लामिछानेले पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार भेट गर्नु भएकाे थियाे।
भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राखेर सरकार आउन अनुरोध गर्नुभएकाे र जवाफमा लामिछानेले पहिलाका मन्त्रालय पाउने र सरकारको ‘न्यूनतम साझा कार्यक्रम’मा भ्रष्टाचारलाई कारबाही गर्ने विषयको बुँदा थपेमा सोच्न सकिने बताउनु भएकाे थियाे।
साथै आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्नेछ । यसअघि संसदीय दलको नेता रहेका उनी नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाले सभापति र सांसद पद गुमेसँगै पदमुक्त हुनु भएकाे थियाे।
त्यस पछि रास्वपाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः विजयी भएर आए पछि उनले शनिवार नै राजीनामा दिइसकेका छन् ।