बर्दिया ।
बर्दिया जिल्ला क्षेत्र नं १ का संघीय सांसद एवं पूर्व सिचाई मन्त्री संजय कुमार गौतम आमरण अनशन (सत्याग्रह) सुरु गरेको आठौँ दिन पुगेको छ । जब्दीघाट पुल निर्माण लगाएत बर्दिया जिल्लाका विभिन्न मुद्दाहरू पटक पटक संसदमा उठाउँदा पनि सरकारले सम्बोधन नगरेको कारण अनशनमा बस्नु भएको थियो ।
सांसद गौतम भत्किएको जब्दीघाटको पुल मुनी बर्दियाका कांग्रेसका नेता सहित अनशन बस्नु भएको छ । आफ्नो पार्टी सत्तामा हुँदा हुँदै आमरण अनशनमा बसेका गौतमले सदनबाट र प्रत्यक्ष भेटेर सरकार समक्ष राखेका मुद्दाहरू सम्बोधन नहुँदा बाध्य भएर आमरण अनशनमा बसेको बताउँदै आउनु भएको छ । उहाँ सत्ता गठबन्धनको मुख्य दल नेपाली काँग्रेसको तर्फबाट निर्वाचित हुन् ।
गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल भाँचिएको ७ वर्ष बित्दा पनि पुर्ननिर्माण भएको थिएन । गत असोज २२ गतेका दिन भाँचिएको पुलको तिन ओटा सल्याब बगाएर तल खसालेको छ । सल्याबले नदीमा सहज रुपमा पानी बग्न नदिई बाँधको रुपमा काम गरिरहेको छ । आउँदो बर्षातको समयमा बर्दियाको सदरमुकाम गुलरिया, बारबर्दिया र मधुवन नगरपालिका डुब्ने खतरा देखिएको छ । बाँधको रुपमा काम गरिरहेको सल्याबलाई नष्ट गर्नुपर्ने माग सांसद गौतमले राखेका छन् ।
यो सँग सँगै बर्दिया जिल्लाको नदि नियन्त्रण, राष्ट्रिय गौरवको आयोजना बबई सिचाईं आयोजनामा पर्याप्त बजेटको सुनिश्चिता , राजापुर सिचाई प्रणालीको दोस्रो चरणको सुरुवात, गुलरिया मुर्तिहा भन्सार नाका खोल्ने, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, भुरिगाउँ तेलपानी सडक निर्माण लगाएतका १५ बुँदे माग राख्नु भएको छ । उहाँलाई साथ दिनका लागि बर्दिया जिल्लाका नेपाली काँग्रेसका नेता, बर्दियाका विभिन्न नगरपालिका नगरप्रमुख उपप्रमुख लगाएत अनशनमा बसिरहेका छन् ।
२०६५ सालदेखि निर्माण शुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । ४२५ मिटर उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै २०७४ साल साउन २९ गते आएको बाढीले पुलका तीनवटा स्पान भासिएका थियो । भने गत असोज २२ गते आएको बाढीले १७ वटा स्पान मध्ये पूर्व तर्फको तीनवटा स्ल््याप र स्पान बगाएको थियो ।