प्रकाश पौडेल‚ गुलरिया ।
बर्दियामा दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बर्दियाले छ महिना देखि १५ वर्ष मुनिका एक लाख १७ हजार दुई सय १५ जना बालबालिकालाई दादुरा रुबेला खोप लगाउने भएको हो ।
आर्थिक वर्ष २०७९/८० मा दादुरा रुबेला रोगको ८० जना बिरामी फेला परेको स्वास्थ्य कार्यालय जनाएको छ । दादुरा रुबेला रोगको बिरामी फेला परेपछि सरकारले बर्दिया लगाएत ९ ओटा जिल्लामा दादुरा रुबेला रोग विरुद्ध खोप अभियान सञ्चालन गरेको हो ।
स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बर्दियामा खोप अभियान दुई चरणमा हुने बताउनु भयो । उहाँले पहिलो चरण जेष्ठ २२ देखि २६ गतेसम्म राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा र दोस्रो चरणको खोप अभियान जेष्ठ २९ देखि असारको १ गतेसम्म गुलरिया‚ बारबर्दिया‚ मधुवन‚ बाँसगढी‚ ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिकामा सञ्चालन हुने बताउनु भयो ।
स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले बर्दिया सञ्चालन हुने खोप अभियानमा पाँच सय ७८ वटा खोप केन्द्र रहने बताउनु भयो । उहाँले अभियानमा एक हजार एक सय ७४ जना स्वास्थ्यकर्मी र स्वयम् सेवक परिचालन हुने बताउनु भयो । १५ बर्ष मुनिका बालबालिका प्राय: विद्यालयमा हुने भएको हुनाले विद्यालयमा नै गएर खोप लगाउने उहाँले बताउनु भयो ।
दादुरा रोग मिजल्स भाइरसका कारण हुने छिटै सर्ने सरुवा रोग हो । भने रुबेला भाइरसले हुने रुबेला रोग पनि दादुरा जस्तै देखिने संक्रमित रोग हो । यो रोग लागेपछि ज्वरो आउने र शरिरमा रातो विमीरा देखा पर्ने हुन्छ । नाकबाट पानी बग्ने‚ खोकी लाग्ने‚ आँखा रातो हुने‚ आँखा पोल्ने‚ जस्ता लक्षण देखिने गर्दछ । यो रोग लागेको व्यक्तिको सम्पर्कमा आएको १०/१२ दिनपछि मात्र दादुराको लक्षण र १२ देखि २३ दिन पछि रुबेला रोगको लक्षण देखा देखिन्छ । दादुरा र रुबेला रोगको संक्रमण भएमा मुत्यू समेत हुन सक्छ ।