

विशाल बस्नेत‚ गुलरिया । ध्रुव माध्यामिक विद्यालय तुलसीपुरका शिक्षकहरूले कुनैपनि राजनीतिक दल सम्बद्ध संघ/संगठनको सदस्यता नलिने भएका छन् । सदस्यता लिएका संगठनको सदस्यता नवीकरण नगर्ने भएका छन् ।
ध्रुव माध्यमिक विद्यालयका तुलसीपुरका शिक्षकहरूको जेष्ठ १८ गते बसेको बैठकले सो निर्णय गरेको हो । नेपाल सरकारले शिक्षकहरूको पेशागत संगठनको रुपमा शिक्षक महासङ्घलाई मान्यता दिएको छ ।

शिक्षकहरूको आधिकारिक संगठन शिक्षक महासंघ भएकोले अव उप्रान्त शिक्षकहरूले महासङ्घको सदस्या लिने तर अन्य कुनै दल निकटका शिक्षक संघ/संगठनको सदस्यता नलिने भन्दै विद्यालयका प्राधानाध्यापक पिताम्बर पोख्रेलको अध्यक्षतामा बैठक बसेर निर्णय गरेका हाे ।
बर्दिया जिल्लामा यस अघि यस्तो निर्णय भएको पाइदैन । शिक्षक र विद्यालय कर्मचारीहरूले राजनीतिक दल निकट संघ/संगठनको सदस्यता लिएर त्यसमा आवद्ध हुदै आएका थिए ।
गुलरिया नगरपालिका वडा नं ४ मा रहेको माध्यमिक तहसम्म पढाई हुने विद्यालय ध्रुव मावि हो । ३२ जना शिक्षक रहेको यस विद्यालयमा विशेष गरी गुलरिया‚ नगरपालिका वडा नं २‚ ३ र ४ का विद्यार्थीहरू पढ्ने गर्दछन् । यहाँ भेटेनरी र पत्रकारिता विषय पढाई हुँदै आएको छ ।