काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललिता निवास जग्गा प्रकरणमा अहिलेसम्म सातजनालाई पक्राउ गरेको छ ।
सीआइबीले मंगलबार बिहानबाट थालेको पक्राउ अभियानमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित सात जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ रहेका छन् । प्रहरीले सरकारी किर्ते आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले अझैं दर्जनौं व्यक्तिलाई पक्राउ गर्ने सम्भावना रहेको छ ।
पक्राउ परेकाहरूलाई म्याद थपका लागि आजै अदालत पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।
सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको हो ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाए पनि सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै फाइल फिर्ता पठाएको थियो ।