

मधुवन । भारतमा धन कमाएर फर्कँदा नेपाली कामदारहरू असुरक्षित भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । नेपाल भारत सीमावर्ती क्षेत्रमा अझैपनि नेपाली कामदारहरू असुरक्षित भएको हुँदा दुवै देशका सुरक्षाकर्मीहरूले सुरक्षा सर्तकता बढाउनु पर्ने कार्यक्रमका सहभागीहरूले बताएका हुन् ।
दलित महिला उत्थान संघ बर्दियाले मधुवन नगरपालिकामा आयोजना गरेको नेपाल भारत आवत जावत गर्ने क्रममा सिमा क्षेत्रमा नेपाली कामदारहरूको सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा अझैपनि भारतमा धन कमाएर फर्किँदा लुटिने पिटिने गरेकोले दुवै देशका सुरक्षाकर्मीहरू सुरक्षा सर्तकता बढाउनु पर्ने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले नेपाली कामदार भारतमा जाँदा होस वा आउँदा होस अझैपनि असुरक्षित रहेको बताउनु भयो । उहाँले दुवै देशका सुरक्षाकर्मीहरूले समन्वय गरेर उनीहरूको सुरक्षाका लागि सर्तकता अपनाउनु पर्ने बताउनु भयो । उहाँले भारतमा काम गर्न जाने नेपालीहरूलाई समेत सुरक्षाका उपाय अपनाउनका लागि सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्ने बताउनु भयो । सकेसम्म नगरपालिका मै रोजगारीको सिर्जना गरेर भारत लगाएतका अन्य देशमा नजाने वातावरण सिर्जना गर्ने बताउनु भयो ।
भारत हुँदै श्रम स्वीकृती नलिई अन्य देशमा नजानका लागि नगरप्रमुख भाटले आग्रह गर्नु भएको छ । श्रम स्वीकृती अहिले नगरपालिकाबाट पनि हुने गरेका बताउँदै थप जानकारी लिनका लागि रोजगार शाखामा सम्पर्क गर्नका लागि अनुरोध गर्नुभयो ।
मधुवन नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष मेकबहादुर गुरुङ्गले वडा र नगरले प्रोफाइल तयार गरेर भारतमा काम गर्न जानेको संख्या यकिन गरी उनीहरूको लागि सचेतना मूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । मधुवन नगरपालिका वडा नं ४ का वडाध्यक्ष वलीराम थारुले विदेशमा जाने कामदार भन्दा भारतमा जाने कामदारहरू बढि असुरक्षित भएको बताउनु भयो ।
दलित महिला उत्थान संघ बर्दियाकी अध्यक्ष खिमा वि.क. को अध्यक्षतामा भएको कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट, नगर उपप्रमुख अनिता चौधरी, वडाध्यक्षहरू, सानोश्री इलाका प्रहरी कार्यालयका निलकण्ठ ढकाल, समाज सेवी, पत्रकार लगाएतकाको उपस्थिति रहेको थियो ।