प्रकाश पौडेल,गुलरिया ।
बर्दियाका थारू समुदायका १०.८२ प्रतिशत बालबालिकामा सिकलसेल फेला परेको छ । स्वास्थ्य कार्यालय बर्दियाले ८ ओटा विद्यालयका तिन हजार एक सय ६ जना बालबालिकामा गरेको स्क्रिनिङ्ग जाँचमा १०.८२ प्रतिशतमा सिकलसेल एनिमिया र ४.५१ प्रतिशत बालबालिकाहरूमा थालसेमिया रोग फेला परेको हो ।
स्वास्थ्य कार्यालय बर्दियाले ७ ओटा नगरपालिकाका ८ ओटा विद्यालयमा कक्षा ६ देखि १० सम्मका बालबालिकाहरूको रक्तपरीक्षण गरेको थियो । राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकामा सिकलसेल र थालसेमियाकाे जाँच गरिएको थियो । बारबर्दिया नगरपालिकामा थारू समुदायका एक देखि २९ वर्ष उमेर समुहका २० हजार थारू युवा तथा बालबालिकाहरूलाई जाँच गर्दा ११.३ प्रतिशतमा सिकलसेल फेला परेको थियो ।
आठ ओटा विद्यालयका तिन हजार एक सय छ जना थारू समुदायका बालबालिकाहरूमा गरिएको परीक्षणमा तिन सय १२ जना बालबालिकामा सिकलसेल फेला परेको थियो । जसमध्ये ११ जना रोगी र तिन सय एक जना बाहक रहेका छन् । त्यसैगरी एक सय ४० जना बालबालिकामा थालसेमिया फेला परेको थियो । जसमध्ये एक सय ३९ जना बाहक र एक जना रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाले गरेको स्क्रिनिङ्गमा गेरुवा गाउँपालिकामा सबैभन्दा बढि १७.३१ प्रतिशतमा सिकलसेल र थालसेमिया रोग फेला परेको छ । जसमध्ये ११.६४ जनामा सिकलसेल फेला परेको छ । त्यसैगरी ठाकुरबाबा नगरपालिकामा १६.१४ प्रतिशत बालबालिकामा सिकलसेल र थालसेमिया फेला परेको छ । जसमध्ये ९.०५ प्रतिशतमा सिकलसेल फेला परेको छ । बर्दिया जिल्लामा आठ ओटा पालिका मध्ये मधुवन नगरपालिकामा सबैभन्दा कम १४.५० प्रतिशतमा सिकलसेल र थालसेमिया रोग फेला परेको छ । जसमध्ये १०.०३ प्रतिशतमा सिकलसेल फेला परेको छ ।
जाँचको क्रममा फेला परेका ११ जना सिकलसेल रोगीले नियमित औषधी खानुपर्ने हुन्छ । स्वास्थ्य जटिल हुँदै गएमा रगत समेत चढाउनु पर्ने हुन्छ । भने तिन सय १ जना सिकलसेल बाहकहरू मध्येले बाहक सँग नै विवाह गरेमा उनीहरूबाट जन्मने सन्तान सिकलसेल रोगी भएर जन्मन्छन् । भने थालसेमियाका रोगीहरूलाई पनि नियमित रगत चढाउनु पर्ने जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताउनु भयाे ।
गत बर्ष बर्दियामा स्वास्थ्य कार्यालयले एक हजार ९ सय ९२ जनामा गरेको स्क्रिनिङ्ग जाँचमा ११ प्रतिशतमा सिकलसेल र थालेसोमिया ४ प्रतिशतमा फेला परेको थियो ।
बर्दियामा आर्थिक बर्ष २०७८/०७९ देखिे सिकलसेल र थालेसेमियाको जाँच गरिदै आएको वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीले बताए । सिकलसेल र थालेसेमिया वंशानुगत रुपमा सर्ने रोग भएकोले विवाह गर्नु अगाडि सिकलसेल र थालेसेमियाको जाँच गरेर विवाह कुण्डली मिलान गरेर विवाह गर्नुपर्ने उहाँले बताउनु भयाे ।