
प्रकाश पौडेल, गुलरिया । राजापुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कमैया महिला जागरण समाज नेपालले मुक्त कमैया, कमलरी, दलित, विपन्न परिवार, र अभिभावक विहिन बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । कमैया महिला जागरण समाज नेपालले मुक्तकमैया र कमलरीको हकहितको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै राजापुर नगरपालिका नगरप्रमुख दिपेश थारुले बालबालिका कुलतमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले अभिभावकहरुले आफ्ना बालबालिका के गरिरहेका छन् भनेर सचेत हुन जरुरी रहेको बताउनु भयो । पालिका भित्रका कुनै पनि बालबालिकाले शिक्षाका लागि कुनै शुल्क तिर्न नपर्ने व्यवस्था गर्ने शिक्षामा २७ करोड रुपैयाँ छुट्याएको बताउनु भयो । सोचे अनुसारको नतिजा नआएकोले शिक्षामा सुधार गर्न सबैको साथ र सहयोग आवश्यक रहेको नगर प्रमुख थारुको भनाई छ । उहाँले समय, परिस्तिथी फेरिएकोले अबका बालबालिकाले राम्रोसँग शिक्षा आर्जन गरेर अगाडी बढ्नु पर्नेमा जोडदिनु भयो ।
संस्थाले ६, ७, ८, ९ र १० कक्षामा अध्ययनरत ३०१ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रममा बोल्दै कमैया महिला जागरण समाज नेपालकी अध्यक्ष बिषनी थारुले नेपालमा कृषि बँधुवा श्रमको अन्त्य परियोजना अन्र्तगत शैक्षिक सामाग्री वितरण गरिएको बताउनु भयो । उहाँले मुक्त कमैया कमलरी, दलित, विपन्न परिवार र अभिभावक विहिन बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको बताउनु भयो । उहाँले पहिला मुक्तकमैया, कमलरी, दलित अगायत अन्य समुदायका मानिसले शिक्षाको प्राप्त गर्ने अधिकारबाट बञ्चित हुनु परेको थियो । तर अबका बालबालिकालाई शिक्षा प्राप्त गर्ने अधिकार संविधानले ज्ञारेन्टी गरेको छ उहाँले भन्नु भयो । राम्रोसँग पढेर अगाडी बढ्न सके धेरै अवसर प्राप्त हुने भएकोले राम्रोसँग पढ्न बालबालिकालाई अध्यक्ष थारुले आग्रह गर्नु भयो । उहाँले मुक्त कमैया कमलरीको जीवनस्त्तर सुधार गर्न संस्थाले उद्यमशिलता तालिम लगायत उनीहरुको अधिकार प्राप्तिको लागि पैरवी गर्दै आएको बताउनु भयो ।
नेपालमा कृषि बँधुवा श्रमको अन्त्य परियोजनाको सामाजिक परिचालक सम्झना चौधरीले बस्ती, वडा र नगर स्तरिय मुक्त कमैया समाज, विद्यालय, वडा कार्यालय र नगरपालिकासँग समन्वय गरेर विद्यार्थी छनोट गएको बताउनु भयो । उहाँले बालबालिका शैक्षिक सामाग्रीको अभाव भोग्नु नपरोस् भनेर संस्थाले विद्यार्थीलाई झोला, विद्यालय पोशाक, ज्यामिती बक्स, कापी कलम उपलब्ध गराएको जानकारी दिनुभयो ।


