प्रकाश पौडेल, गुलरिया ।
बर्दियामा अविरल वर्षाका कारण आएको बाढीले एक सय २४ घर डुबानमा परेका छन् ठाकुरबाबा नगरपालिका वडा नंं २, ६ र ७ र गुलरिया नगरपालिका वडा नं ५ का गरी १ सय २४ घर डुबान भएको हो ।
सोमबार राती देखि भएको अविरल वर्षाका कारण गुलरिया नगरपालिकामा बबई नदिमा र ठाकुरबाबा नगरपालिकाको औराही तलबेलुवा गिठे लगाएतका खोलामा आएको बाढीले घरहरू डुबानमा परेका हुन् ।
अविरल वर्षाका कारण ठाकुरबाबा नगरपालिका वडा नं.२ मा ४५ घरधुरी, वडा नं. ६ मा १७ घरधुरी र ७ नं वडामा ५० घरधुरी डुबानमा परेका छन् । त्यसैगरी गुलरिया नगरपालिका वडा नं. ५ मा १२ घरधुरीमा बाढी पसेको जिल्ला प्रशासन कार्यालय बर्दिया प्रशासकीय अधिकृत लोक प्रसाद ढकालले बताउनु भयो ।
ठाकुरबाबा नगरपालिकामा विभिन्न खोला लगाएत चुरे पहाड देखि आएको बाढीले डुबानमा परेपछि ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्साल, उपप्रमुख विना भट्टराई बिहानै देखि उद्धार कार्यमा संलग्न हुनुभएको थियो । यस वर्ष भने बर्दिया राष्ट्रिय निकुञ्ज आसपास होटल तथा पर्यटन व्यवसायीहरू समेत राफ्टिङ बोट सहित उद्धार कार्यमा संलग्न भएका थिए । यता प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, र नेपाल रेडक्रस सोसाइटीको टोलीले विभिन्न बाढीग्रस्त स्थलको अवलोकन गरेको छ ।
ठाकुरबाबा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले डुबानमा परेकाहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्ने कार्य जारी रहेको बताउनु भयो । उहाँले बाढी प्रभावितलाई सुरक्षित राख्न सुन्दर मावि शिवसुन्दरमा बस्ने र खाने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
जल तथा पूर्वानुमान शाखाले पानी पर्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । बर्दियामा हाल पानीको सतह भने घट्दै गएको छ । वर्षात निरन्तर भइरहेको हुनाले बबई नदी लगाएत विभिन्न तटीय क्षेत्रका बासिन्दाहरूलाई सजग रहन अनुरोध गरिएको छ ।