
गुलरिया । बबई बहुमुखी क्याम्पस गुलरियामा स्वतन्त्र विद्यार्थी युनियनले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले रक्तदान गरेका छन् ।
बर्दिया अस्पतालमा रगत अभाव हुँदा बिरामीले समस्या भोग्दै आएका थिए । रक्त सञ्चार केन्द्रमा रगत नहुँदा बिरामीलाई अस्पतालमा भर्ना गरेर बिरामीका परिवार र आफन्त रगत खोज्न भौँतारीनु पर्ने बाध्यता थियो ।
स्ववियु अध्यक्ष लक्ष्मण भण्डारीले बर्दिया अस्पतालमा भर्ना भएका रगत आवश्यक पर्ने बिरामीहरुलाई रगतको अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरिएको बताउनु भयो ।


पहिलो पटक रक्तदान गर्नु भएकी १८ बर्षिय बारबर्दिया वडा नं. ११ बेलभारकी निशा कुमारी चौधरी स्वतन्त्र विद्यार्थी युनियनले गरेको रक्तदान कार्यक्रममा अरु साथीहरुले रक्तदान गरेको देखेर आफूलाई रक्तदान गर्न मन लागेर रक्तदान गरेको बताउनु भयो । चौधरी भन्नुभयो, “अब कसैलाई रगत अभाव भएको थाहा पाउने बितिकै रक्तदान गर्नेछु ।”
गुलरिया नगरपालिका वडा नं. ५ की सिवानी चौधरीले पहिलो पटक रक्तदान गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले भन्नुभयो “रगत अभावका कारणले कसैले समस्या भोग्न नपरोस् भन्ने, लागेर मैले रक्तदान गरेकी हुँ र अब नियमित रक्तदान गर्नेछु । ” उहाँले रक्तदान गर्दा कुनै हानी नहुने भएकोले अरुलाई पनि रक्तदान अनुरोध गर्नु हुन्छ ।
बारबर्दिया वडा नं. ४ की संगिता चौधरीले केही महिना अघि दिदीको उपचार गर्न ल्याउँदा रगतको अभाव भोग्नु परेको थियो, त्यहीँ घट्नाले पनि रक्तदान गर्न प्रेरण मिलेको बताउनु हुन्छ । उहाँले भन्नुभयो “सुरुमा रक्तदान गर्न डर लागेको थियो, अरुले रक्तदान गरेको देखेपछि डर हराएर गयो । पहिलो पटक रक्तदान गर्न धेरैजना डराउने गर्नु हुन्छ, उहाँहरुलाई रक्तदान गर्दा केही नहुने भनेर बताउने छु ।” यस्ता कार्यक्रमले रक्तदान गर्नु पर्छ भन्ने प्रेरणा मिल्ने भएकोले यस्ता कार्यक्रम अन्य स्थानमा पनि गर्न उपयुक्त हुने चौधरी बताउनु हुन्छ ।
बबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरेन्द्रराज लम्सालले स्वतन्त्र विद्यार्थी युनियनले गरेको काम रचनात्मक भएको बताउनु भयो । उहाँले रक्तदान गर्ने काम अति पवित्र काम भएकोले अरु बेला पनि रक्तदान गर्नु पर्नेमा जोडदिनु भयो ।
स्वतन्त्र बिद्यार्थी युनियनको आयोजना, नेपाल स्वयंसेवी रक्तदाता समाज र अनेरास्ववियु क्याम्पस कमिटीको समन्वय र नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । लारी रक्त सञ्चार तथा भण्डारण केन्द्रकी ल्याब असिस्टेन्ट सावित्री चौधरीले रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको बताउनु भयो ।


