यज्ञप्रसाद सापकाेटा,मधुवन ।
मधुवन नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि विद्यालय मुखी कार्यक्रम लागू गर्ने भएको छ । मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बालबालिकाहरूको उपस्थिति विद्यालयमा नै बढी हुने भएको हुनाले बालविवाह न्यूनीकरण सम्बन्धी कार्यक्रमलाई विद्यालयमा केन्द्रित गरिने बताउनु भयो ।
दलित महिला उत्थान संघ बर्दियाले आयोजना गरेको समन्वयात्मक बैठकमा सो कुरा बताउनु भएको हो । नगरप्रमुख भाटले बालविवाह हुन नदिनका लागि विद्यालयका बालबालिकाहरूलाई सचेतनाका कार्यक्रम सञ्चालन गराउने, विद्यालयलाई बालबालिकाहरूलाई निगरानी गर्न लगाउने लगायतका काम गर्ने बताउनु भयो । त्यो सँग सँगै अभिभावक र समुदायमा पनि सचेतनाका कार्यक्रम अगाडि बढाएमा बालविवाह न्यूनीकरण गर्न सकिने उहाँले बताउनु भयो ।
मधुवन नगरपालिकाकी नगरप्रमुख अनिता चौधरीले विभिन्न सङ्घसंस्थाहरूले बालविवाह न्यूनीकरण सम्बन्धी काम गरेको हुनाले नगरपालिकालाई सहज भएको बताउनु भयो । मधुवनमा बालविवाहको अवस्था विकराल भएको बताउँदै न्यूनीकरण गर्नका लागि नगरपालिका र सरोकारवाला निकाय मिलेर अगाडि बढ्नु पर्ने बताउनु भयो । बालविवाह न्यूनीकरणका लागि सरकारले विभिन्न कानुनी प्रावधान ल्याएपछि समाजमा फरक तरिकाले बालविवाह गर्ने चलन बढेको बताउँदै त्यसलाई रोक्नका लागि समाजलाई नै सचेत गराउनु पर्ने बताउनु भयो ।
मधुवन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खिमराज पोख्रेलले सबै सरोकारवाला मिलेर बालविवाह न्यूनीकरणमा लाग्ने हो भने यो समस्या समाधान हुने बताउनु भयो । नगरपालिकाले रणनीतिक योजना बनाएरै बालविवाह मुक्त नगरपालिका बनाउनु पर्ने उहाँको भनाई छ ।
विद्यालयले बालबालिका माथि निगरानी बढाएमा बालबालिकाहरूले गर्ने गलत क्रियाकलापहरू रोकिनुका साथै बालविवाह न्यूनीकरण हुने कार्यक्रमका सहभागीहरूले बताएका थिए । बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन भएपनि विभिन्न रुपमा बालविवाह भइरहेको सहभागीको भनाई थियो ।
कार्यक्रममा दलित महिला उत्थान संघले सञ्चालन गरेको बालविवाह तथा चाँडै हुने विवाह न्यूनीकरण तथा रोकथाम परियोजनाको वार्षिक समीक्षा तथा आगामी वर्ष गर्ने कार्यक्रमको बारेमा छलफल भएको थियो । मधुवन नगरपालिकाका वडा नं १,२,३ र ५ नं वडामा परियोजना सञ्चालन भइरहेको छ ।
बैठकमा मधुवन नगरपालिका २ नं वडाका वडाध्यक्ष आशाराम थारू, ४ न वडाका वडाध्यक्ष बलिराम चौधरी, शिक्षा शाखा प्रमुख नारायण खनाल, स्वास्थ्य शाखाका मणिराम आचार्य। महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा चुनरा, इलाका प्रहरी कार्यालयका इन्चार्ज निलकण्ठ ढकाल, सहायक महिला विकास निरीक्षक शोभा शर्मा, बालविवाह न्यूनीकरण संयुक्त सञ्जालको अध्यक्ष मञ्जु शर्मा, वि ग्रुप की फिल्ड सुपरभाइजर सुनिता चौधरी, बालक्लब सञ्जालको अध्यक्ष सम्झना बाठा, दलित महिला संघ परियोजना अधिकृत जिरा वि.क., नेपाल पत्रकार महासंघ बर्दियाका कोषाध्यक्ष शितल थापा, पत्रकार यज्ञप्रसाद सापकोटा लगाएतकाको उपस्थिति रहेको थियो ।