डाक्टर शाहलाई स्वास्थ्य अवार्ड
प्रकाश पौडेल
गुलरिया ।
बर्दिया अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर विश्वनाथ शाहलाई यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्डले सम्मानित गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य खबर पत्रिकाको वार्षिकोत्सवको अवसरमा सो अवार्ड प्रदान गर्नु भएको हो ।
स्वास्थ्य खबर पत्रिकाको वार्षिकोत्सवको अवसरमा स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, वकालत कर्ता, नीतिनिर्माता तथा स्वयंसेवीकाहरुलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।
यस वर्ष नवजात शिशु तथा बाल मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले बर्दिया अस्पतालमा कार्यरत डाक्टर शाहलाई अवार्ड प्रदान गरिएको हो । बर्दिया जिल्लामा बसेर सेवा गरिरहेका उहाँलाई नवजात तथा बाल मृत्युदर न्यूनीकरण विधामा हेल्थ अवार्ड प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा गठन भएको समितिमा परेको आवेदन, मनोनयन, तथा सिफारिसको आधारमा स्वास्थ्य खबर अवार्ड प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका शाखा अधिकृत सौगात सम्बाहाङफेले बताउनु भयो ।
विशेषज्ञ सेवा विरलै पाउने बर्दियाबासीले विगत २ बर्ष यता बालरोग विशेषज्ञको रुपमा डाक्टर शाहले सेवा गर्दै आउनु भएको छ । उहाँको नेतृत्वमा बर्दिया अस्पतालमा २९ हप्तामा जन्मेका बच्चालाई समेत बचाउनु भएको छ । बर्दिया अस्पताल बर्दियामा बालबालिकाको उपचारमा अहोरात्र खटिने डाक्टरको रुपमा परिचित हुनुहुन्छ ।