
गुलरिया । जिल्ला समन्वय प्रमुख सूर्य बहादुर विष्टले किसानको बालीमा विभिन्न खालका रोग लागेको भएपनि भरपर्दो उपचार नपाएको गुनासो गर्नु भएको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकरण कार्यक्रममा बोल्दै समन्वय प्रमुख विष्टले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका समन्वय प्रमुख विष्टले वास्तविक किसान सम्म कार्यालयको सेवा पुग्न नसकेको गुनासो आइरहेको सुनाउँदै वास्तविक किसान समक्ष एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय पुग्नु पर्ने बताउनु भयो । प्रत्येक वर्ष किसानले गुणस्तरीय बिउ, मल नपाउने समस्या छ त्यसको समाधानका लागि यस कार्यालय संघीय सरकार समक्ष नीतिगत पहल गर्नुपर्ने सुझाव दिनु भएको छ । अझैपनि किसानलाई अन्नबाली उत्पादनमा लागत खर्च बढि लाग्ने गरेको बताउँदै त्यसलाई न्यूनीकरण तर्फ लाग्नु पर्ने बताउनु भयो । उहाँले निकुञ्जको आसपासले लगाएको अन्नबाली खाइदिँदा वर्षेनी किसानले समस्या भोग्नु परेको बताउँदै त्यस स्थानका कृषकलाई सहज हुने गरी कृषि प्रविधि भित्र्याउनु पर्नेमा जोड दिनु भएको छ ।
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक १० करोड ७५ लाख ४६ हजारको स्वीकृत बजेट सार्वजनिक गरेको छ । कार्यालयले ८ वटा उपशीर्षकमा बजेटलाई विभाजन गरेको छ ।


एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कार्यालय प्रमुख सागर ढकालले यस वर्ष गुलरियामा बेसार प्रसोधन केन्द्र स्थापना गर्ने नयाँ योजना रहेको बताउनु भयो । उहाँले बेसार प्रसोधन केन्द्र स्थापना भएपछि वन्यजन्तुले नोक्सान गर्ने क्षेत्रका कृषकहरुले गरेको बेसार खेतीको बजारीकरणमा सहज हुने बताउनु भयो । प्रमुख ढकालका अनुसार नेपाल मै पहिलो पटक कृषि सहकारीहरु सँग समन्वय गरी कृषि प्रसार कार्यक्रमको सुरुवात गर्न लागिएको जानकारी दिनु भयो । उहाँले कृषि सहकारी संस्थाहरूलाई कृषि एम्बुलेन्स, किसान सूचिकरण तथा तथ्यांक अद्यावधिक जस्ता कार्यक्रम सञ्चालन हुने बताउनु भयो । उहाँले किसानलाई सेवा प्रवाहमा सहजता लागि डोर टु डोर पशु बाँझोपन निवारण सेवा जस्ता कार्यक्रम यस वर्षमा हुने जानकारी गराउनु भयो । दरबन्दी अनुसार कर्मचारी अभाव हुँदा कार्यालयले सोचेको जस्तो सेवा दिन नसकेको बताउँदै सरकारले दरबन्दी अनुसारको प्राविधिक र कर्मचारी पढाए कृषकले सहजै सेवा पाउने बताउनु भयो ।


