यज्ञप्रसाद सापकोटा, मधुवन । मधुवन नगरपालिका वडा न १ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा शौचालय र खानेपानीलाई स्तरीय र व्यवस्थित गराइने भएको छ । त्रिभुवन माध्यमिक विद्यालयका शौचालय र खानेपानीलाई नमुनाको रुपमा सुधार गरिने भएको हो ।
वाटरएडको सहयोगमा बेस बर्दियाले स्तरीय र प्रयोगकर्ता मैत्री शौचालय, हात धुने स्थान र खानेपानीको व्यवस्थापन गर्न लागेको हो । प्रायः सामुदायिक विद्यालयहरूका शौचालय, हात धुने स्थान र खानेपानीको अवस्था दयनीय देखिँदै छ । मधुवन नगरपालिकामा नमुनाको रुपमा राष्ट्रिय मापदण्ड अनुसार विकास गरिने भएको हो ।
बेस बर्दियाले मधुवन नगरपालिकामा पहिलो चरणमा त्रिभुवन माध्यमिक विद्यालय सुर्यपटुवा र शुक्र माध्यमिक विद्यालय मधुवन ७ लाई नमुना विद्यालयको रुपमा छनौट गरेको छ । जसमध्ये यस वर्ष त्रिभुवन माध्यमिक विद्यालयमा भौतिक संरचना निर्माण र सुधार गरिने योजना रहेको बेस बर्दियाले जनाएको छ । त्रिभुवन माध्यमिक विद्यालयमा छात्रा मैत्री र अपांगता मैत्री शौचालय निर्माण तथा मर्मत, सम्पूर्ण बालबालिकाहरूलाई पहुँच पुग्ने गरी हात धुने स्थानको निर्माण, प्याड जलाउने व्यवस्थित इन्सिनेटर, कुहिने र नकुहिने फोहोर फाल्ने र जलाउने स्थान, खानेपानीका लागि फिल्टर सहितको धारा जडान गरिने बेस बर्दियाले जनाएको छ । भौतिक संरचना सुधार एवं निर्माणका लागि १७ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
गत चैत्रबाट सुरु भएको परियोजनाले हाल सम्म सर्वेक्षण मार्फत जोखिमयुक्त विद्यालयको पहिचान र भौतिक संरचना निर्माणका लागि योजना निर्माण, विद्यालयमा समावेशी बालक्लब गठन तथा पुनर्गठन र वास योजना निर्माण, विद्यालय स्तरीय वास समिति गठन लगायतका कार्यहरू सम्पन्न भएको बेस बर्दियाले परियोजना सल्लाहकार समितिको बैठकमा बताइएको छ ।
मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले नमुना विद्यालयको रुपमा विकसित भएपछि अरु विद्यालयलाई पनि मापदण्ड अनुसार सुधार गर्दै लैजाने बताउनु भयो । उहाँले विद्यालयलाई स्वच्छ र सरसफाइ युक्त बनाएमा उनीहरूले घरमा पनि सुधार गर्दै लैजाने बताउँदै सबै विद्यालयमा स्वच्छता कायम गर्ने गरी योजना बनाउने बताउनु भयो ।
खानेपानी सरसफाइ र स्वच्छता सुधार मार्फत बालबालिकाहरूको विद्यालयमा पहुँच बढाउँदै गुणस्तरीय सिकाइ उपलब्धि कायम गाउने उद्देश्यले वास जेन्स WASH GAINS परियोजना सुरु गरिएको बेस बर्दियाका कार्यक्रम संयोजक जगदिश चौधरीले बताउनु भयो । परियोजनाले खानेपानी सरसफाइ र स्वच्छतामा कमी भएको कारणले विद्यार्थीहरूले विद्यालय छोड्नुपर्ने वा विद्यालयमा अनुपस्थित हुनपर्ने बाध्यतालाई हटाउने लक्ष्य लिएको छ । उहाँले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ छात्रा मैत्री शौचालय निर्माण गरी महिनावारी हुँदा छात्राहरूलाई विद्यालय मै स्वास्थ्य सहित सम्पूर्ण सुविधा उपलब्ध गराउनका लागि सहयोग गर्ने बताउनु भयो । सन् २०२६ सम्ममा बर्दिया जिल्लाका ४ वटा नगरपालिकाको १३००० किशोर किशोरीहरु र अपाङ्गता भएका बालबालिकाहरूलाई सुविधा दिने लक्ष्य रहेको बेस बर्दियाले जनाएको छ ।