bardiyahospital

विद्युत लाइन विस्तार नहुदाँ पुरै गाउ अँध्यारोमा

Geruwa GIF


 प्रकाश पौडेल/ दिनेश ठाकुर , गुलरिया । तराईको जिल्ला भएपनि बर्दिया जिल्लामा अझै पनि विद्युत विस्तार हुन सकेको छैन भन्दा अचम्म लाग्ला तर यो सत्य हो । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा नै हाल सम्म विद्युतको उज्यालो पुग्न नसकेका गाउँ रहेको छ । 


गुलरिया नगरपालिका वडा नं १० लड्कनीयामा हाल सम्म पनि विद्युतको लाइन बिस्तार हुन सकेको छैन ।  १६ घरधुरी रहेको लड्कनीयामा विद्युत लाइन बिस्तार हुन नसक्दा अझैपनि अँध्यारोमा बस्न बाध्य रहेका छन् ।
खरको छाना र खरकाे टटियाले बारेको घर भएको सो गाउँमा आर्थिक अवस्था कमजोर भएका घरपरिवार बस्ने गर्दछन् । यो बस्ती सिमा स्तम्भबाट लगभग एक सय मिटरको दूरीमा रहेको छ । दिनरात नेपालको सिमानाको रक्षा गर्ने स्थानीयलाई स्थानीय तह लगायतका अन्य सरोकारवाला निकायले समेत बेवास्ता गरेको छन् । 

cld


सदरमुकाम नजिक रहेको लड्कनीया गाउँमा सामान्य आधारभुत सेवा पुग्न सकेको छैन ।   खानेपानी, विजुली,  सडकको राम्रो व्यवस्थापन छैन् । नजिकैको गाउँमा रहेका टाठाबाठा, राजनीतिमा पहुँच भएका व्यक्तिहरूले आफ्नो जग्गा र खेतबारीमा समेत विजुलीको लाइन बिस्तार गरेको लड्कनीयाका ४१ वर्षीया बिध्धी गोडिया बताउनु हुन्छ । 


चुनावको बेला नेताहरूले भोट माग्न आउँदा बिजुली ल्याइदिने, खानेपानीको बिस्तार गर्ने, सहज रुपमा मल बीउ उपलब्ध गराउने, बाटो बनाइदिने आश्वासन दिएपनि चुनाव पछि फर्केर नआउने गरेको गोडिया बताउनु हुन्छ ।
वडा अध्यक्षलाई विजुलीको पोल र तारको व्यवस्थापन गरी दिन  पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गोडियाले बताए । उहाँले भन्नुहुन्छ, ‘ विद्युत कार्यालयमा गएर पोल माग गर्नका लागि आग्रह गर्दा वडा अध्यक्षले आफू व्यस्त भएको बताउनु हुन्छ । त्यही भएर विद्युत कार्यालयसम्म जान सकेको छैन। ।’


विद्युतको पहुँच नहुँदा बालबालिकाको पठनपाठनमा असर परेको सोही स्थानमा बसोबास गर्ने ३७ वर्षीय दयाराम गोडिया बताउनु हुन्छ । बालबालिका विद्यालयबाट आएपछि  बस्तुभाउ हेर्न जान्छन् , घर फर्कँदा साँझ पर्छ । सोलारले पनि राम्रोसँग काम गर्न छोडेकोले उज्यालोमा पढ्न पाएका छैनन् । विद्युत अभावमा बालबालिकाहरूको पढाईमा समेत असर परेको छ ।  


१६ घरहरू मध्ये  लड्कनीयामा १० घरपरिवारको जग्गा समेत छैन् ।  भने ६ घर परिवारको नाममा जग्गा रहेको छ । आफ्नो पुर्खौली सम्पत्ति केही नभएका ४० वर्षीय गोपाल हरजनलाई विजुली बति बाल्न पाउने आस छैन् । उहाँ भन्नुहुन्छ, ‘ अन्त सबैतिर बत्ति छ, उज्यालो छ । तर यहाँ बिजुलीको पोल र तार केही आएको छैन् । अर्काको जग्गामा घर बनाएर बसेको छु,  मैले बति बाल्न पाउछु र ?’


गुलरिया नगरपालिका वडा –१० का वडा अध्यक्ष लक्ष्मी नारायण लोधले वडा कार्यालयले पाँच लाख रकम पोल र तारको लागि बजेट विनियोजन भएको हुँदा लड्कनीयामा विजुलीको लाइन बिस्तार गर्ने बताउनु भयोे
विद्युत प्राधिकरण वितरण केन्द्र गुलरियाका  प्रमुख नारायण अर्यालले लड्कनीयामा विद्युतको लाइन बिस्तारका माग गर्न कोही नआएकोले यस बारेका कार्यालय जानकारी नभएको बताउनु भयो । उहाँले पोल, तार, ट्रान्सफर्मर र मिटर नभएको कारण कोही पनि बत्ति बाल्नबाट बञ्चित नहुने बताउँदै लड्कनीयामा तिहार अघि नै सर्वे गरेर विद्युतको लाइन बिस्तार गर्ने बताउनु भयो । अन्य स्थानमा पनि विद्युत लाइनको बिस्तार नभएको भए कार्यालयमा जानकारी गराए विद्युत विस्तार गरिने बताउनु भयो ।
ऐलानी जग्गा वा अरुको जग्गामा बसोबास गर्नेहरूलाई वडाको सिफारिसको आधारमा  विद्युत मिटर उपलब्ध गराउने व्यवस्था रहेको प्रमुख अर्यालले बताउनु भयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.