
कृष्णसार अनलाइन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पालिएका हात्तीहरूको स्वास्थ्य जाँचका लागि स्वास्थ्य शिविर सञ्चालन भएको छ । पालुवा हात्तीहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिने र उपचार गर्ने उदेश्यले हात्ती स्वास्थ्य शिविर शुरु भएको हो।
दुईदिनसम्म चल्ने शिविरमा ठाकुरद्वारा स्थित हात्तीसारमा रहेका १३ वटा हात्तीको स्वास्थ्य परीक्षण हुनेछ । स्वास्थ्य शिविरमा हात्तिको नङ काट्ने (फुट ट्रिमिङ), रगत जाँच गर्ने र जुकाको औषधि खुवाउने लगायत अन्य चेकजाँचका कार्यहरु हुने चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा.विजयकुमार श्रेष्ठले बताउनु भयो । उहाँले यसपटक देखि प्रत्येक हात्तीलाई रेविज र टिटानस विरुद्धको खोप पनि दिइने बताउनु भयो ।


स्वास्थ्य शिविरमा एउटा हात्तीको परीक्षणका लागि करिब १ घण्टा समय लाग्ने र चिकित्सक सहित दुईजना प्राविधिकि (टेक्निसियन) लाग्ने वरिष्ठ पशुचिकित्सक डा. श्रेष्ठले जानकारी दिनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले पालुवा हात्तीमा देखिने स्वास्थ्य समस्याको उपचारका लागि प्रत्येक वर्ष स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको बताउनु भयो । ‘हात्तीको स्वास्थ्य अवस्था कस्तो छ, शरीरमा पौष्टिक तत्वको अवस्था के छ, अन्य कुनै रोग छ कि छैन भन्ने बुझ्न र उपचार गर्न शिविरको आयोजना गरिएको हो’, प्रमुख संरक्षण अधिकृत रामले भन्नुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा शिविर आयोजना गरिएको छ ।


