बर्दियामा साढे तीन बर्षमा सडक दुर्घटनामा १२२ जनाको मृत्यु
चार सय ५० जना घाइते
प्रकाश पौडेल, गुलरिया । बर्दियामा सडक दुर्घटनाका कारण साढे तीन बर्षको अवधीमा एक सय २२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको बर्दियाको तथ्यांक अनुसार पछिल्लो साढे तीन वर्षमा सडक दुर्घटना परी एक सय २२ जनाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका बर्दियाको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को कात्तिक मसान्तसम्म सडक दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ रहेको छ । जसमा पुरुष ५ जना र महिला १ जना रहेका छन् । आर्थिक वर्ष २०७९÷०८० सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ जना रहेकोमा पुरुष २३ जना, महिला ८ जना, बालक १ जना र बालिका १ जना रहेका छन् ।
त्यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा पुरुष ३१ जना, महिला १० जना, बालक ४ जना र बालिका १ जना गरी ४६ जनाको मृत्यु भएको छ । आर्थिक २०७७÷०७८ मा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ३७ जना रहेको छ । जसमा पुरुष २८, महिला ७ जना र बालक २ जना रहेका छन् ।
सडक दुर्घटनामा चार सय ५० जना घाइते
बर्दियामा सडक दुर्घटनामा परी चार सय ५० जना घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय बर्दियाको सोही अवधीको तथ्यांक अनुसार सडक दुर्घटना परी चार सय ५० जना सख्त र सामान्य घाइते भएका छन् ।
ट्राफिक कार्यालयमा बर्दियाको तथ्यांक अनुसार साढे तीन बर्षको अवधीमा सडक दुर्घटनामा परी घाइते भएका चारसय ५० जना मध्ये पुरुष ४३४, महिला ७७, बालक २७ र बालिका १६ जना रहेका छन् ।
५७ प्रतिशत सडक दुर्घटनामा मोटरसाइकल
तथ्यांक अनुसार ४ सय २५ वटा सवारी साधन दुर्घटना मध्ये २ सय ४२ वटा (५६.९४ प्रतिशत) सडक दुर्घटनामा मोटरसाइकल परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायब निरीक्षक ओमबहादुर खड्काले अन्य सवारी साधनको तुलनामा मोटरसाइकल दुर्घटनाबाट हुने क्षती बढी हुने गरेको बताउनु भयो । मोटरसाइकल चलाकले हेलमेट नलगाउने, लगाए पनि हेलमेटको फिता नबाँध्ने, मोटरसाइकलमा तीन जना बस्ने र तीव्र गतिमा कुदाउने गरेको कारण दुर्घटना र क्षती बढ्ने गरेको पाइएको नायव निरीक्षक खड्को भनाइ छ । उहाँले भन्नुभयो, ‘सवारी चालकले यो बुझ्न जरुरी छ की, ट्राफिक नियमको पालना गर्दा आफू सुरक्षित हुन्छु ।’
सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले विद्यालयमा गएर विद्यार्थीहरूसँग, सडकमा सडक यात्रीहरूसँग र सवारी चालकहरूसँग ट्राफिक नियम सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्ने, नियमित र व्यवस्थित रुपमा चेकजाँज गर्ने गरेको नायव निरीक्षक खड्काले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक कार्यालय बर्दिया प्रहरी हवलदार कृष्ण डाँगीले सडक किनारमा बाक्लो बस्ती भएको स्थानमा बढी दुर्घटना हुने गरेको बताउनु भयो । उहाँले ग्रामीण क्षेत्रबाट आउने पैदल र साइकल यात्रीलाई ट्राफिक नियमको बारेमा जानकारी नहुँदा सडक दुर्घटना हुने गरेको बताउनु भयो । ट्राफिक नियमको बारेमा थाहा हुदाँहुदै पनि पालना नगर्ने प्रवृत्तिले पनि दुर्घटना बढाएको हवलदार डाँगीले बताउनु भयो ।