विशाल बस्नेत, बर्दिया । बर्दियामा २९.७६ तोला सुन सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ बस्ने २९ वर्षीय मोहन वि.क. र बाँके राप्ति सोनारी गाउँपालिका वडा नं २ का सवारी धनी ३८ वर्षीय देबिन्द्र बहादुर घर्ती रहेका छन् ।
प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेपनि आज मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । प्र.–३–०१–०२३ ८१६८ नं हुन्डाई कारमा सुनका गरगहना सहित सवार रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बारबर्दिया नगरपालिका ९ कतर्नियामा चेक प्वाइन्टमा चेकजाँच गरेको थियो । चेक जाँचको क्रममा सुन जस्तो पहेँलो पदार्थ ३४७.०७१० ग्राम फेला परेको प्रहरीले जनाएको छ । स्रोत नखुलेको सुन सहित सवारी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बगनाह मोतिपुर र कतरनियाको प्रहरी टोली चेकप्वाइन्टमा खटिएको थियो ।
हाल प्रहरीले सुनका गरगहना लिएर हिँड्ने वि.क. र सवारी धनी घर्ती सहित गाडीलाई थप अनुसन्धानका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ । ‘स्रोत नखुलेको गरगहना भएको हुनाले आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएका छौँ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुधिरराज शाहीले भन्नुभयो –‘भन्सार कार्यालयसँग आवश्यक सहकार्य भइरहेको छ । ’