

यज्ञप्रसाद सापकाेटा, मधुवन । ताराताल सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले रजत जयन्ती मनाएको छ । स्थापना भएको २५ औं बर्ष पार गरेको हुनाले रजत जयन्ती तथा २६ औँ बार्षिक साधारण सभा मनाएको हो ।
रजत जयन्तीको अवसरमा ताराताल सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको भवन अगाडि रजत स्तम्भ स्थापना गरिएको छ । रजत स्तम्भको अनावरण कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता एवं प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले सहकारीले कृषकको हितमा काम गरेको बताउनु भयो उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिक र वैज्ञानिकीकरण गरि उत्पादन बढाउनका लागि सहकारी संस्थाको योगदान रहेको बताउनु भयो । कृषकहरूको पुँजीलाई एकत्रित गरी उनीहरूलाई नै सेवा दिएको बताउँदै ताराताल साना किसान कृषि सहकारी संस्थाले स्थापनाकाल देखि नै संस्थाको उद्देश्य पुरा गर्न ऋण तथा बचत, कृषि तथा पशुपालन संगै वित्तिय क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएकोमा शुभकामना दिनु भएको छ ।
यसैगरी कार्यक्रमका विशेष अतिथि मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले ताराताल साना किसान कृषि सहकारीले कृषि क्षेत्रलाई व्यवसायीक बनाउनमा योगदान खेलेको बताउनु भयो ।
रजत जयन्ती समारोहमा मधुवन नगरपालिकाका निवर्तमान नगर प्रमुख एवं संस्थाका सल्लाहकार गणेश बहादुर क्षेत्रीले यस क्षेत्रमा बसोबास गर्ने सबै वर्गका मानिसहरूका बिच आर्थिक कारोबारका माध्यमबाट आपसी सद्भाव कायम गर्न संस्थाले उल्लेखनीय भूमिका खेलेको बताउनु भएको छ ।

सहकारी संस्थाका संस्थापक अध्यक्ष एवं निवर्तमान प्रदेश सभा सदस्य कुल प्रसाद पोखरेलले संस्थाले सहकारी, निजी र सार्वजनिक क्षेत्रलाई एकत्रित गरि उनीहरु मै लगानी गरेको बताउनु भयो । यस क्षेत्रको आर्थिक अवस्था सुधार्नका लागि सहकारीले ठुलो भूमिका खेलेको बताउनु भयो ।
कार्यक्रमका वक्ताहरूले २५ औ रजत जयन्ती तथा २६ औ साधारण सभाको अवसरमा शुभकामना दिँदै सहकारीले आर्थिक र सामाजिक विकासका लागि खेलेको भूमिका प्रति खुलेर प्रशंसा गर्नु भएको थियो ।
रजत जयन्ती तथा २६ औं वार्षिक साधारण सभामा संस्थालाई उचाइमा पुर्याउनका लागि सहयोग गर्ने महानुभावहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थाका उत्कृष्ट कृषक, उत्कृष्ट व्यवसायी, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो । त्यसैगरी जेष्ठ शेयर सदस्यहरूलाई र एस इ इ मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूलाई समेत सम्मान गरीएको थियो । त्यसैगरी रजत जयन्तीका अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएकाे थियो । रक्तदान कार्यक्रममा ६२ जना रक्तदाताले रक्तदान गरेका थिए ।
ताराताल सानाकिसान कृषि सहकारी संस्था २०५४ सालमा स्थापना भएको थियो । २९ जना शेयर सदस्यबाट सुरुवात भएको यस सहकारीमा हाल तिन हजार चार सय ३८ जना शेयर सदस्य रहेका छन् । शेयर सदस्यहरूलाई १२ ओटा अन्तर समुह र चार सय ३१ ओटा समुहमा विभाजित गरिएको छ । यस संस्थामा ८० प्रतिशत भन्दा बढि महिला शेयर सदस्य रहेका छन् । गत असार मसान्त सम्म संस्थाको कुल पुँजी ८६ करोड ७७ लाख ३२ हजार एक सय ७२ रुपैयाँ रहेको छ । जसमध्ये ५ करोड ३१ लाख २६ हजार ९ सय शेयर पुँजी रहेको छ भने बचत रकम ३४ करोड २६ लाख दुई हजार ९ सय १९ रहेको छ ।