प्रकाश पौडेल, गुलरिया । बर्दियामा बालविवाह गर्नेको सङ्ख्यामा अझै कमी आउन सकेको छैन् । बालविवाह न्यूनिकरणका लागि सरकारी र गैर सरकारी संघ/संस्थाले गरेको करोडौँको लगानी बालुवामा पानी जस्तै भएको छ ।
बालविवाह न्यूनिकरणका लागि बर्दियामा सङ्घसंस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । समुदाय, वडा, स्थानीय तह र विद्यालयहरूमा बालविवाह न्यूनीकरणका लागि करोडौँ खर्च गरिरहेका छन् तर पनि बालविवाह कम होला भन्दा बढिरहेको देखिन्छ । स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा बालविवाह न्यूनिकरणमा खासै सुधार आएको देखिदैन । जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने, गर्भवती जाँच गर्ने, परिवार नियोजनको साधन प्रयोग गर्ने र गर्भपतन गर्नेको सङ्ख्यामा खासै कमी आउन सकेको छैन् ।
स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा २० वर्ष मुनीका पाँच सय ७४ सुत्केरी भएका छन् । आठ सय ८८ जनाले पहिलो पटक गर्भवती जाँच गरेका छन् । भने चार सय ८८ जना परिवार नियोजनको साधन प्रयोग छन् । ५९ जनाले गर्भ पतन गरेका छन् ।
त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ बर्दियामा एक हजार सात जनाले पहिलो पटक गर्भवती जाँच गरेका छन् । छ सय ३८ जनाले परिवार नियोजनको साधन प्रयोग गरेका छन् । ६६ जनाले गर्भ पतन गरेका छन् । यस वर्ष २० वर्ष मुनीका सुत्केरी सङ्ख्याको तथ्याङ्क राख्ने गरेको पाइदैन । त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ बर्दियामा पहिलो एक हजार एक सय २६ जना पहिलो पटक गर्भवती जाँच गरेका छन् । पाँच सय ५८ जना परिवार नियोजनको साधन प्रयोग गरेका छन् । एक सय पाँच जनाले गर्भ पतन गराएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो ।
पहिलो पटक गर्भवती जाँच गर्ने, सुत्केरी हुने, परिवार नियोजनको साधन प्रयोग गर्ने, र गर्भपतन गर्नेको संख्या हेर्दा कानुनले तोकेको भन्दा कम उमेरमा विवाह हुने गरेको तथ्याङ्कमा देखिएको छ । राजापुर प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका मेडिकल सुपरिटेन्डेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कृष्ण खनालले सानो उमेरमा विवाह गर्दा महिलाहरूमा विभिन्न स्वास्थ्य समस्याहरू देखिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो –‘प्रजनन् अंग परिपक्क नहुदाँ गर्भमा रहेको बच्चाको विकास नहुने, बच्चा खेर जाने, आमालाई लामो समय व्यथा लाग्ने, फिस्टुला हुने, प्रसुती हुदाँ रक्तश्राव अत्याधिक हुने, आमा र बच्चाको ज्यान समेत जान सक्ने, यौन अंग बढी च्यातिने , अप्रेसन गर्नु पर्ने र केहीमा मानसिक समस्याहरु पनि देखिने हुन्छ ।’
स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरी अनुसार बालविवाह न्यूनिकरणका लागि विभिन्न कार्यक्रम हुँदै आए पनि कम उमेरमा सुरक्षित मातृत्व सेवा लिनेको संख्या अत्याधिक छ ।
उहाँले भन्नुभयो –‘स्वास्थ्य कार्यालयले पालिकासँग सहकार्य गरेर कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई कम उमेरमा विवाह गर्दा देखिने असरको बारेमा सचेतना मूलक कार्यक्रम गर्ने तयारी गरिएको छ ।’
बर्दिया जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष कमलप्रसाद पाण्डेले २० वर्ष पुरा नभई विवाह गर्दा विवाह दर्ता नहुने, बच्चाको जन्मदर्तामा प्रश्न उठ्ने, विवाह दर्ता नहुँदा विभिन्न कानुनी समस्या आउने गरेको बताउनु भयो । उहाँले कम उमेरमा विवाह गर्दा महिलाहरूलाई कानुनी हैतियतबाट प्राप्त हुने अधिकारबाट बञ्चित हुनपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद धितालले बालविवाह न्यूनिकरण नगर्ने राज्य नीति लिएको कानुनले बालविवाहलाई बन्देज गरेको बताउनु भयो । उहाँले सङ्घसंस्थाले गरेको कार्यक्रम समुदाय स्तरमा पुग्न नसकेकोले सोचे अनुसार परिणाम आउन नसकेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, – ‘संघसंस्था कार्यक्रम सीमित मान्छेको उपस्थितिका हुन्छ । समुदायको तल्लो तहसम्म कार्यक्रम पुग्न सक्दैन जसका कारण परिणाम सोचे अनुसार आएको छैन् । बालविवाह कागजी रुपमा मात्र कम भएको देखिएको छ । तर समुदायमा बालविवाह भयावह रुपमा रहेको छ । बालविवाह कति हुन्छ भन्ने तथ्यांक स्थानीय तहसँग पनि छैन् ।’
बालविवाह अन्त्य गर्ने रणनिति
सरकारले सन् २०३० सम्ममा प्रदेशका सबै नगरपालिका र गाउँपालिकाहरूमा बाल विवाह अन्त्य गर्ने रणनिति लिएको छ । सन् २०१४ मा बेलायतमा भएको उच्च स्तरीय शिखर सम्मेलनमा नेपालले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ । सोही प्रतिवद्धता पुरा गर्न सरकारले विभिन्न सरकारी तथा गैरसरकारी संघ/संस्थाको सहयोगमा बालविवाह न्यूनिकरणको लागि काम गर्दै आएको छन् । बालविवाह एक जटिल समस्या हो । बालविवाहलाई कानुनले अपराध मानेको छ । मुलुकी अपराध संहिता २०७४ ले २० वर्ष नपुगी विवाह गर्न नपाउने भनी ऐनमा उल्लेख गरेको छ । ऐनको विपरित कसैले विवाह गरे त्यो विवाह स्वतः खारेज हुने व्यवस्था ऐनमा रहेको छ । भने बालविवाह मानव अधिकारको गम्भीर उल्लंघन पनि हो ।
बालविवाहको स्वरुप र संरचनामा व्यापक परिवर्तन आएको छ । हाल अभिभावकहरूको दबावमा हुने बालविवाह न्यून र बालबालिका स्वयम् भागेर गर्ने विवाह अत्याधिक रहेको छ । अभिभावकको अनुमति विना विवाह गर्ने र पछि पारिवारिक, सांस्कृतिक समस्या परेपछि परिवारले स्वीकार्न बाध्य हुने गरेको छ ।
पहिलाझैँ बुबाआमाले धार्मिक परम्परा अनुसार विवाह गरिदिने परम्पराको न्यूनीकरण भएको छ । तर संस्थाहरू पुरानो शैलीमा डोनरको योजना अनुसार काम गर्दै आएका छन् । जसका कारण बालविवाह न्यूनिकरण हुन सकेको छैन् । बालविवाह न्यूनिकरण गर्ने भन्दै संस्थाले अभिभावक, जनप्रतिनिधि, शिक्षक, धर्म गुरुहरू र सीमित बालबालिकाको समूह गठन गरेर काम गर्दै आएको छ । बालविवाह नियन्त्रणका लागि भन्दै बर्दियामा प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लब, भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) लगाएतका संस्थाले काम गर्दै आएका छन् । संस्थासँग भएको तथ्यांक भन्दा समुदायमा बालविवाहको वास्तविकता फरक रहेको छ ।