यज्ञप्रसाद सापकोटा, बर्दिया । बर्दियाको मधुवन नगरपालिकाले हरेक महिना शिक्षककै खातामा तलब पठाउने भएको छ । मधुवन नगरपालिकाले हरेक महिना विद्यालय खातामा पठाउँदै आएकाे तलब हरेक महिना शिक्षक कै खातामा पठाउन लागेको हो ।
मधुवन नगरपालिकाले विद्यालयको कामको भारलाई कम गर्नको लागि हरेक महिनाको मसान्तमा शिक्षकको तलब सिधै खातामा पठाउने व्यवस्था गरिएको हो । शिक्षकलाई पनि सहज होस र विद्यालयलाई कामको लोड पनि कम होस भनेर खातामा पैसा पठाउन लागिएको मधुवन नगरपालिकाले जनाएको छ । अब भने निजामती कर्मचारीलाई जस्तै नगरपालिकाले सिधै शिक्षकको खातामा रकम निकासा गर्ने छ ।
यही पुष महिना देखि शिक्षकको खातामा तलब पठाउन सुरु गरिएको मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले बताउनु भयो । यस महिनाको तलब पठाई सकेको उहाँले बताउनु भयो । उनका अनुसार विद्यालयको कामलाई सहज हुने, विद्यालयबाट पटक पटक बैंकमा धाउनु पर्ने र सञ्चय कोषको रकम भुक्तानी गर्नका लागि सहज बनाउनका लागि सिधै शिक्षकको खातामा पठाउने गरिएको हो । बजेटको आकार सानो हुँदा विद्यालयलाई प्रशासनिक काम गर्न सहज हुने भएको छ ।
यस अघि विद्यालयको खातामा रकम निकासा हुने गरेको थियो । लामो अवधिमा रकम निकासा हुँदा शिक्षकहरूले हरेक महिना आर्थिक संकट बेहोर्नु पर्दथ्यो । तर हरेक महिना तलब आफ्नै खातामा आउने भएपछि सबै समस्याको समाधान हुने शिक्षकहरूले बताएका छन् । अर्को तर्फ विद्यालयको खातामा तलब निकासा हुँदा पुनः विद्यालयले शिक्षकलाई तलब खुवाउन झन्झट हुन्थ्यो । भने विद्यालयको बजेटको आकार समेत बढ्दथ्यो । अब विद्यालयको बजेटको आकार सानो हुने र बजेट व्यवस्थापनमा पनि सजिलो हुने मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख खनालले बताउनु भयो । ।
मधुवन नगरपालिकामा मावि र आधारभुत गरी २७ ओटा विद्यालय रहेका छन् । जसमा तिन सय ७५ जना शिक्षकहरू कार्यरत रहेका छन् ।