Division forest_Ads
Edu_Barabardiya

कर्णालीको पूर्वी भंगालो गेरुवामा पानीको चरम संकट

निकुञ्जका वन्यजन्तु देखि कृषक प्रभावित

Bidhut Notice
Geruwa GIF

मुकुन्द सुवेदी, बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली नदीको पूर्वी भँगालो गेरुवा नदीमा पानीको सङ्कट गहिरिएको छ । वन्यजन्तुका लागि पानीको मुख्य स्रोत रहेको यही गेरुवा नदीमा एक दशकअघिसम्म प्रशस्त पानी बग्थ्यो । पानीको बहाव तीव्र थियो । पानी प्रशस्त हुँदा यस क्षेत्रमा निकुञ्जका गैँडा, हात्ती, बाघ र चराचुरुङ्गी आहाल बस्थे, पानी पिउँथे । पानी पिउन आउने वन्यजन्तुको चहलपहल हुन्थ्यो । यही नदीको सहायक भँगालोबाट बगेर जाने पानीले ठाकुरबाबा र मधुवन नगरपालिकाका केही वडाका कृषकले खेतबारी सिञ्चित गर्दथे । अहिले विगतको जस्तो यहाँ पानी छैन । गैँडा, बाघ, हात्ती र चराचुरुङ्गी पानीमा खेल्न र खान आउनै छोडेका छन् । कर्णाली नदीले धार (बहाव) परिवर्तन गरेपछि निकुञ्ज हुँदै बग्ने गेरुवा नदी र यसका सहायक (नदी) भँगालोमा पानी सुक्दा वन्यजन्तुलाई पानीको चरम सङ्कट परेको छ भने हजारौँ बिघा खेतीयोग्य जमिनमा सिँचाइ हुन सकेको छैन ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले गेरुवा र यसको सहायक नदीमा पानी आउने मुख्य स्थान लालमाटी र माथिल्लो क्षेत्रमा बर्सेनि ढुङ्गा, गिट्टी र बालुवा थुप्रिँदा पानीको सङ्कट गहिरिँदै गएको बताउनुभयो । उहाँले पानी आउने मुखमा छ लाख घनमिटर ढुङ्गा करिब दुई किलोमिटर क्षेत्रफलमा थुप्रिएको र निकु्ञ्ज क्षेत्र भएको हुँदा उत्खनन गर्नसमेत नसक्दा प्रत्येक वर्ष पानीको मात्रा घट्दै गएको जानकारी दिनुभयो । डा. रामले भन्नुभयो, “बाघ, गैँडा, हात्ती, जलचर प्राणी र अन्य जङ्गली जनावरको उपयुक्त बासस्थान रहेको निकुञ्जको कर्णाली तटीय क्षेत्रमा बढ्दो पानीको सङ्कट समयमै समाधान गर्नु आवश्यक छ । यस्तै स्थिति रहे केही वर्षमै निकुञ्जको अस्तित्व नै सङ्कटमा आउँछ ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र खानी खन्न, ढुङ्गा खन्न वा कुनै खनिज पदार्थ ढुङ्गा, कङक्रिट, माटो वा अन्य यस्तै पदार्थ हटाउन प्रतिबन्ध गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी आशिष न्यौपानेले बाघको सङ्ख्या धेरै रहेको र बाघलाई चाहिने आहारा प्रजाति पनि धेरै रहेको यस क्षेत्र भएर बग्ने भँगालोमा पानी ल्याउन अस्थायी रूपमा कुलो खनिएको बताउनुभयो । गेरुवा नदीतर्फ बगेको १० क्युसेक पानीमध्ये निकुञ्जभित्र बग्ने लालमाटी क्षेत्रको भँगालोमा जम्मा दुई क्युसेक मात्र पानी रहेको उहाँले जानकारी दिनुभयो । न्यौपानेले पानी प्रशस्त ल्याउन र पानीको बहाव स्थायी रूपमा बढाउन लालमाटी क्षेत्रमा रहेको करिब दुई किलोमिटरसम्म फैलिएको क्षेत्रबाट करिब छ लाख घनमिटर ढुङ्गा गिट्टी, बालुवा हटाउनुपर्ने विभिन्न अध्ययनले देखाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेलाई अस्थायी रूपमा क्यानल बनाएर निकुञ्जभित्र थोरै पानी ल्याएका छौँ । यो पर्याप्त होइन र छैन । स्थायी रूपमै समस्या समाधानका लागि विभाग र मन्त्रालयमा पत्राचार गरेका छौँ ।”

Basgadhi PSA_final

नदीको पश्चिममा हुने उत्खनन समस्या 

प्राकृतिक रूपमै कर्णाली नदी चिसापानी पुलदेखि करिब पाँच सय मिटर तल पुगेपछि दुईतर्फ विभाजित भएको छ । विभाजितमध्ये पूर्वतर्फको भँगालो (गेरुवा नदी) निकुञ्ज हुँदै बगेको छ भने पश्चिमतर्फको कर्णाली नदी कैलाली हुँदै बगेको छ । पश्चिमतर्फको कर्णाली नदीमा कैलालीका विभिन्न स्थानीय तहले गर्र्ने ढुङ्गा, गिट्टी र बालुवाको अत्यधिक उत्खनन र प्राकृतिक रूपमै बाढीले गर्दा हुने धार परिवर्तनले कर्णालीमा पानीको बहाव धेरै रहेको छ भने गेरुवा नदीमा अत्यन्त कम छ । कर्णाली नदी रानीजमरा गुलरिया नहरबाट पानी कैलालीतर्फ लगिएको छ । वातावरण मामिलाका जानकार दयाराम खड्काका अनुसार अत्यधिक उत्खननका कारण कर्णाली नदीको भूभाग गहिरो र गेरुवा नदीतर्फको भूभाग उच्च हुँदा गेरुवामा पानीको बहाव कम भएकोे हो । उहाँका अनुसार गेरुवामा देखिएको पानी सङ्कटको मुख्य समाधान थुप्रिएर रहेको नदीजन्य सामग्री निकाल्नु नै रहेको छ । खड्काले भन्नुभयो, “नदीजन्य वस्तु निकाल्नु पर्छ, निकाल्न हुन्छ तर निकाल्दा अपनाइने विधि र पद्धति भने पारदर्शी हुनु पर्छ ।”

किसान पनि सङ्कटमा 

गेरुवा नदी र यसका सहायक भँगालोमा हिउँदमा देखिएको पानीको अभावले वन्यजन्तु मात्र होइन, किसान पनि चिन्तित देखिएका छन् । सिँचाइ गर्दै आएको खेतीयोग्य जमिनमा दुई वर्षदेखि सिँचाइ गर्न नसकिएको कृषकले बताएका छन् । ठाकुरबाबा नगरपालिका–९ का कृषक भागीराम थारूले कर्णाली नदीको पूर्वी भँगालो गेरुवामा पानी नहुँदा गहुँ, तोरी र आलुमा सिँचाइ गर्न नसकिएको बताउनुभयो । उहाँले गेरुवामा पानी कम हुँदा जमिनमुनिको पानीको सतह पनि तल गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले १८/२० फिट गाडेपछि ह्यान्ड पम्प (धारा) मा पानी आउँथ्यो, अहिले धेरै गाड्नु पर्छ ।” चैते धानको पकेट क्षेत्रसमेत रहेको यस क्षेत्रमा विगत दुई वर्षदेखि चैते धान लगाउन छोडिएको कृषक थारूको भनाइ छ ।

स्थानीय सिँचाइ उपभोक्ता समितिका कोषाध्यक्ष राधाकृष्ण चौधरीले गेरुवाबाट आउने पानीबाट दुई वर्षअघिसम्म करिब १७ हजार बिघा खेतीयोग्य जमिनमा सिँचाइ हुने गरेको बताउनुभयो । उहाँले पानी नहुँदा निकुञ्जका जनावर र किसान दुवै मर्कामा परेको बताउनुभयो । ऐन, कानुन संशोधन गरेरै भए पनि लालमाटीमा थुप्रिएको गिट्टी, बालुवा हटाउनुपर्ने कोषाध्यक्ष चौधरीले बताउनु्भयो ।

Leave A Reply

Your email address will not be published.