प्रकाश पौडेल, गुलरिया । गुलरिया नगरपालिका – ११ लालपुरका ८० वर्षीय छोटकहु तेली सामाजिक सुरक्षा ज्येष्ठ नागरिक भत्ता लिन बैंकसम्म लडिया आउनु भएको छ । हिँडडुल गर्न नसक्ने भएपछि तेलीलाई सामाजिक सुरक्षा भत्ता लिन सात किलोमिटरको दूरीका रहेको बैंकसम्म लडियामा ल्याइएको हो ।
तेली भत्ता बुझ्न आउनु भएको लडियामा पराल राखिएको थियो । परालमाथि त्यसमाथि सानो एउटा गद्दा राखिएको थियो, त्यही परालमा अइयाँ अइयाँ भन्दै सिरक ओढेर सुत्नु भएको थियो ।
छोटकहु तेलीका छोरा हनिफ तेली बुबाको चेक लगायतको कागजात लिएर बैंकमा जानु भएको थियो । भने बुवा लडिया सुत्नु भएको थियो । केही बेरपछि बैंकको एकजना कर्मचारीले चेकमा औठा छाप लगाउन छापदानी लिएर आउनु भयो । र चेकमा तेलीको औँठाछाप लगाउनु भयो । उहाँ चेक लिएर बैंकमा जानुभयो ।
छोटकहु तेलीका छोरा हनिफ तेलीले बुबाको खुट्टा भाँचिएर बर्दिया अस्पताल गुलरिया ल्याएको थिए । अस्पतालले यहाँ बुबाको खुट्टाको उपचार नहुन नसक्ने भएकोले अन्यत्र लैजानु भनेर रिफर गरेको छ । घरमा पैसा थिएन बुबाको भत्ताले केही भएपनि औषधी उपचार गर्न जाँदा सहयोग हुने भएकोले भत्ता निकाल्न आएको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘ बुबाको उपचार गर्न र भत्ता निकाल्न गुलरियासम्म लडियामा आइयो । अब नेपालगञ्ज उपचार गर्न लैजानु छ । केमा लैजाने भन्ने निर्णय गर्न सकिएको छैन् । भत्ता झिकेर घर गएपछि सरसल्लाह गरेर बुबाको उपचारको लागि लैजाने हो ।’
वडाबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई सरकारले बैंकिङ प्रणालीबाट वितरण सुरु गरेको छ । जसका कारण ज्येष्ठ नागरिक तथा अपाङ्गले भत्ता आफैं बैंक गएर लाइन लाग्नुपर्ने बाध्यता रहेको छ ।
स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बर्दियामा ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तीन हजार नौ सय ३७ जना, क वर्गका अपाङ्ग एक हजार दुई सय ९६ जना र ख वर्गका अपाङ्ग तीन हजार ५९ जना रहेका छन् ।
गुलरिया नगरपालिका ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तीन सय ९४ जना, क वर्गको अपाङ्ग एक सय ६१ जना ख वर्गको अपाङ्ग चार सय ४३ जना रहेका छन् । बारबर्दिया नगरपालिका ८० वर्ष भन्दा माथिका छ सय २५ जना, क वर्गको अपाङ्ग दुई सय चार जना ख वर्गको अपाङ्ग पाँच सय ४० जना रहका छन् । राजापुर नगरपालिका ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक पाँच सय ३६ जना, क वर्गको अपाङ्ग एक सय ८२ जना ख वर्गको अपाङ्ग तीन सय ८९ जना रहेका छन् । बाँसगढी नगरपालिका ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक छ सय ९५ जना, क वर्गको अपाङ्ग एक सय ६२ जना ख वर्गको अपाङ्ग चार सय ४९ जना रहेका छन् । मधुवन नगरपालिका ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक चार सय ३० जना, क वर्गको अपाङ्ग एक सय ४० जना ख वर्गको अपाङ्ग तीन सय ५४ जना रहेका छन् । ठाकुरबाबा नगरपालिका ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक चार सय ५३ जना, क वर्गको अपाङ्ग एक सय ५८ जना ख वर्गको अपाङ्ग तीन सय ४९ जना रहका छन् । बढैयाताल गाउँपालिका ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक पाँच सय छ जना, क वर्गको अपाङ्ग एक सय ६९ जना ख वर्गको अपाङ्ग तीन सय १८ जना रहेका छन् । गेरुवा गाउँपालिका ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक दुई सय ९८ जना, क वर्गको अपाङ्ग एक सय २० जना ख वर्गको अपाङ्ग दुई सय ५३ जना रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
स्वास्थ्य बिमा बोर्ड बर्दियाका दर्ता अधिकारी डिकेन्द्रबहादुर बिष्टले ७० वर्षमाथि १६ हजार नौ सय ५८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा रहेको जनाएको बताउनु भयो । उहाँले गुलरिया दुई हजार दुई ९८ जना, बाँसगढी नगरपालिकामा दुई हजार सात सय ५० जना, बारबर्दियामा दुई हजार छ सय ६९ जना, मधुवन नगरपालिकामा एक हजार आठ सय १४ जना, राजापुरमा दुई हजार ७८ जना, ठाकुरबाबा नगरपालिकामा एक हजार नौ सय ६६ जना गेरुवा गाउँपालिकामा एक हजार ३ सय ७५ जना र बढैयाताल गाउँपालिकामा दुई हजार आठ जना स्वास्थ्य बिमा रहेका सेवा लिई रहेको बताउनु भयो ।
बर्दिया नेत्रहीन संघका सचिव गुलरिया नगरपालिका –४ का ५१ वर्षीय प्रेमप्रसाद अधिकारीले ज्येष्ठ नागरिक तथा अपाङ्गले सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकभित्र सबै नअटाउने भएकोले बैंक बाहिर लाइन लागेर बस्नुपर्ने अवस्था अझै रहेको बताउनु भयो । उहाँले भत्ता बुझ्ने पालो पाएपछि मात्र बैंकले भित्र बोलाउँछन् , त्यति बेलासम्म बैंक बाहिर पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षा भत्ता परिवारको सदस्यलाई मन्जुरीनामा सहमति दिएर बैंकबाट पैसा निकाल्ने व्यवस्था छ । तर परिवारको सदस्यले खर्च गरिदिँदा त्यो भत्ता सम्बन्धित व्यक्तिसँग पुग्दैन । त्यहीँ भएर वडाका जनप्रतिनिधि तथा बैंकको कर्मचारीले त्यो भत्ता सम्बन्धित व्यक्तिसम्मले पुर्याउने व्यवस्था मिलाउन जरुरी रहेको छ । ’
बर्दिया अपाङ्ग पुर्नस्थापनाको केन्द्र बर्दियाका महासचिव बढैयाताल गाउँपालिका –८ का दलबहादुर सुनारले अपाङ्ग तथा ज्येष्ठ नागरिक शारीरिक रुपमा कमजोर हुन्छन् घरबाट बैंक टाढा हुदाँ ६,७ किलोमिटर दूरीका रहेको बैंकमा भत्तामा लिन जानुपर्ने बाध्यता रहेको बताउनु भयो ।
सुनारले भन्नुभयो, ‘अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई भत्ता लिन जाँदा एक जना सहयोगीको आवश्यकता हुन्छ । तर कसैको बैंकसम्म लैजाने सहयोगी नहुदाँ अझ धेरै समस्या हुने गरेको छ । भने बैंकहरू पनि अपाङ्गमैत्री नहुदाँ बैंकमा गएर झन धेरै समस्या भोग्नु परेको छ । अपाङ्ग र ज्येष्ठ नागरिकले भत्ता लिन जादा बैंक बाहिर कुरेर बस्नुपर्ने बाध्यताको अन्त्य गरी घरबाट सेवा पाउने व्यवस्था मिलाउन जरुरी रहेको छ ।’
गुलरिया नगरपालिका – ११ का वडा अध्यक्ष विष्णु यादवले सामाजिक सुरक्षा भत्ता लिन वडा सिफारिसमा इच्छाइएको व्यक्तिले बैंक भत्ता लिन सक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनु भएको तर बैंकसम्म जान नसक्नेले वडामा कार्यालय आएर एउटा दिन सक्नुहुन्छ । र वडा कार्यालयले बैंकलाई सिफारिस गर्छ । त्यसपछि इच्छाएको व्यक्तिले बैंकबाट भत्ता ल्याउन सक्नुहुन्छ । ’
नेपालको संविधानले ज्येष्ठ नागरिकको हकमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक व्यवस्था गरेको छ । भने सामाजिक न्यायको हक अन्तर्गत अपाङ्ग भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधाका समान पहुँचको हकको व्यवस्था रहेको छ ।