कृष्णसार अनलाइन, गुलरिया । बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारीले एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने पर्ने बताउनु भयो । बढैयाताल गाउँपालिका वडा –६ ले सञ्चालन गरेको एक महिने गुडिया बनाउने सीप मूलक तालिमको समापनमा सो कुरा बताउनु भएको हो ।
स्थानीय तह बनेसँगै स्थानीय तहले आफ्नो पालिकाका विशेषताका आधारमा विविध खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । पालिकाहरूले पालिका हुने उत्पादन तथा त्यहाँको सम्भावनाको प्रचारप्रसार र प्रर्वद्धन गर्न कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन् ।
पालिका उपाध्यक्षले वडामा रहेको सम्भावना पहिचान गरी सोही अनुसार काम गर्ने सके नागरिकको जीवन स्तरमा सुधार आउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले आम मानिसमा निराशा छाएको छ, यो व्यवस्थाप्रति मानिसको नकारात्मक धारण विकास हुदै गएको छ । यस्तो बेलामा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गरेर आम नागरिक जीवन स्तरमा सुधार ल्याउन सके मात्र यो व्यवस्थाप्रति विश्वास रहने छ । त्यसकारण भौतिक विकास सँगसँगै आर्थिक विकास हुने खालका आर्यआर्जनको कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको छ ।’
उहाँले आफू पनि एकल महिला भएको र आफूसँग सीप भएकोले जीविकोपार्जन गर्न सजिलो भएको बताउनु भयो । उहाँले पालिका उपाध्यक्ष हुनु अधि आफूले पनि दिदीबहिनीलाई विभिन्न खालको सीप मूलक तालिम दिएको समेत कार्यक्रममा बताउनु भयो ।
कार्यक्रममा बोल्दै बढैयाताल गाउपालिका –६ का अध्यक्ष शुक्रराज सापकोटाले वडाले सञ्चालन गरेको डल बनाउने तालिम सहभागी हुनु भएको दिदीबहिनीलाई आत्मनिर्भर बन्ने सहयोग पु्ग्ने बताउनु भयो । उहाँले एक महिने तालिमले मात्र नपुग्ने भएकोले अर्को पटक थप तालिमको आयोजना गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, ‘वडाले तालिम दिने मात्र नभएर उत्पादन भएको बस्तुलाई बजारीकरण गर्नका लागि पनि सहयोग गर्नेछ । तालिममा सिकेको सीपलाई थप निखार्दै व्यवसायिक उद्यमी बन्ने गरी काम गर्न आग्रह गर्छु ।’
वडा अध्यक्ष सापकोटाले वडाले विपन्न परिवारको जीवन स्तर माथि उठाउन सक्दो प्रयास गर्ने बताउनु भयो । यसका लागि वडाले सीप मूलक तालिम दिने आत्मनिर्भर बन्न प्रेरित गर्ने वडाको लक्ष्य रहेको बताउनु भयो ।
बढैयाताल गाउँपालिका लेखा अधिकृत नारायण राज त्रिपाठीले वडाले सञ्चालन गरेको तालिम सिकेको ज्ञान व्यवहारिक रुपमा लागू गर्नुपर्नेमा जोडदिनु भयो । उहाँले बजारमा उत्पादन भएका अन्य उत्पादनसँग प्रतिस्पर्धा गर्नु पर्ने भएकोले काम गर्दा विशेष ध्यान दिएर उत्पादन गरी बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुनु पर्ने बताउनु भयो ।
वडा –६ मा रहनु भएको एकल महिला तथा विपन्न वर्गलाई लक्षित गरी गुडिया बनाउने सीप मूलक तालिम दिइएको थियो । तालिममा एकल तथा विपन्न गरी २५ जनाको सहभागिता रहेको थियो ।