

गुलरिया । बर्दियामा आज देखि दादुरा रुबेला खोप अभियान सुरु भएको छ । विद्यालयलाई केन्द्रित गरेर बर्दिया लगाएतका विभिन्न जिल्लामा खोप लगाउने अभियान सुरु भएको हो ।
गुलरिया नगरपालिका वडा नं ६ मा रहेको श्री राधाकृष्ण थारू बगलामुखी माध्यमिक विद्यालयबाट बर्दिया जिल्लाको खोप अभियान औपचारिक सुरुवात भएको हो ।
हेर्नुहाेस् भिडियाे

सन् २०२६ सम्ममा दादुरा रुबेला रोगलाई खोपका माध्यमद्वारा निर्मूल गर्ने लक्ष्य अनुसार आइतबारबाट दादुरा रुबेला अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार ९ महिना देखि १५ वर्ष मुनिका १ लाख १८ हजार ५ सय २७ जनालाई खोप दिने लक्ष्य लिइएको छ । अभियान सञ्चालनका लागि ८ ओटै पालिकाका चार सय ८४ खोप केन्द्रमा ९ सय ६८ जना स्वास्थ्यकर्मी र एक हजार चार सय ५२ जना स्वयंसेवक परिचालन गरिएको छ । खोप शुभारम्भ कार्यक्रममा जानकारी दिनु भयो । बर्दियामा खोप अभियान फागुन १३ गते देखि १८ गते सम्म चल्नेछ । भने बाँसगढी नगरपालिकाको वडा नं १ मा फागुन २१ गते देखि २३ गते सम्म सञ्चालन हुने छ ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले दादुरा रुबेला रोगको कारण धेरै बालबालिकाहरूलाई स्वास्थ्य समस्या देखिएको र गत बर्ष एक बालकको मृत्यु सम्म भएको हुनाले सबैले नछुटाई आफ्ना बालबालिकाहरूलाई खोप लगाउनका लागि अनुरोध गर्नुभयो ।
जिल्ला समन्वय समिति बर्दियाका सभापति सुर्यबहादुर विष्टले दादुरा रुबेला रोग भएका बालबालिकाहरूमा पखाला लाग्ने, कानमा संक्रमण हुने, न्यूमोनिया हुने, अन्धोपन हुने, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने र बिरामीको मृत्यु समेत हुन सक्ने भएकाले सबै बालबालिकाहरूलाई खोप लगाउनु पर्ने बताउनु भयो ।
अभियान शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, स्कुल व्यवस्थापन समितिका पदाधिकारी, सम्बन्धित कार्यालयका प्रमुख तथा कर्मचारीहरू, विद्यालयका शिक्षक शिक्षिका, बालबालिका र पत्रकारहरू सहभागी थिए ।