बर्दिया । ठाकुरबाबा नगरपालिका ४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा ८ बजेको समयमा आगलागी भएको थियो ।
आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिराम जैशीको सव पुर्ण रुपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । उनको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ ।
आगलागी भए पश्चात स्थानीयबासीले धारा र मोटरको पानीबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । पछि नेपाल प्रहरी, नगरप्रहरीले ट्रयाक्टरमा जडित पानी ट्याङ्करबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । मधुवन नगरपालिका दमकलको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी र स्थानीयवासीले राती ११ बजे आगो नियन्त्रणमा लिएका थिए ।
ठाकुरबाबा नगरपालिकामा दमकल नहुँदा आगलागीबाट ठुलो धनजनको क्षति भएको स्थानीयले बताएका छन् । उनीहरूले तत्काल दमकल खरिद गर्न माग गरेका छन् । ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले दमकल ल्याउने प्रक्रिया सुरु गर्ने बताउनु भएको छ ।