

कृष्णसार अनलाइन, बर्दिया । बर्दियामा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवस मनाइएको छ । बर्दियाबाट २०६४ साल देखि सञ्चालन भएको अभियानको अवसरमा बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ९ मा रहेको सतखलुवा तालमा दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संरक्षण अभियानमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले उक्त कुरा बताउनु भएको हो ।

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ९ सतखलुवामा भएको कार्यक्रममा मुख्यमन्त्री शर्माले प्रकृतिका लागि हामी र हाम्रा लागि प्रकृति अत्यन्त आवश्यक भएको बताउँदै प्रकृति, बन्यजन्तु र जैविक विविधताको संरक्षण अहिलेको आवश्यकता भएको बताउनुभयो । साथै प्राकृतिक स्रोत तथा जैविक विविधताको संरक्षणमा तिनै तहका सरकारले उचित ध्यान दिनुपर्ने धरणा राख्नु भयो ।
समुदाय र पृथ्वीको अन्तर संयोग, वन्यजन्तुको संरक्षणमा प्रविधिको प्रयोग भन्ने मूल नारासहित यस बर्ष चोरी शिकार नियन्त्रण युवा परिचालन दिवस मनाइएको हो । नेपालमा पहिलो पटक २०६४ साल देखि १५ जनाबाट चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान सञ्चालन भएको हो । यसमा मध्यवर्ती क्षेत्रका तिन हजार तिन सय ६६ युवाहरू स्वयंसेवक रुपमा चोरीशिकार नियन्त्रणमा लाग्दै आएका छन् । चोरी शिकार नियन्त्रणका लागि युवा परिचालन भएपछि चोरी शिकार कम हुँदै शुन्यमा झरेको थियो । कुनै समयमा चितवनबाट ल्याइएका गैँडाहरू बर्दियामा चोरीशिकारिले मार्ने अत्याधिक थियो । अभियान सञ्चालन भएपछि गैँडाको शून्य शिकार भएको थियो । चोरी शिकार नियन्त्रणमा प्रभावकारी भएपछि सरकारले अभियानलाई २०७१ सालमा मान्यता दिई देशभरी नै परिचालन गर्ने योजना ल्याएको थियो ।
चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका बर्दिया अध्यक्ष हेमन्त आचार्यले चोरी शिकार नियन्त्रणका लागि अभियानको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । हाल सम्म स्वयंसेवकको रुपमा अभियानमा लागिरहेको बताउँदै अब े अभियानमा लागेका युवाहरूको व्यवस्थापन क्षमता अभिवृद्धि,जिविकोपार्जन र सुरक्षाका निम्ति सरकारले नीति बनाउनु पर्ने बताउनु भयो । अभियानलाई संस्थागत गर्नुपर्ने बताउँदै अभियानका युवाहरूलाई यही देशमा बसेर यही अभियानमा संलग्न भई राख्ने वातावरण मिलाउन आग्रह गर्नु भयो ।
बर्दिया जिल्लामा बर्दिया जिल्लाको सतखलुवा क्षेत्रमा आयोजित कार्यक्रममा पालिका प्रमुख, संरक्षण क्षेत्रमा काम गर्ने संघसंस्था, बरिष्ठ संरक्षण अधिकृत, चोरी शिकार नियन्त्रणको क्षेत्रमा काम गर्ने युवा युवतीहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।