यज्ञप्रसाद सापकोटा/बढैयाताल । बर्दियाको बढैयाताल गाउँपालिकाले सहकारी दिवसको अवसरमा सहकारीद्वारा उत्पादित हस्तकला र कृषि उपजहरूको प्रर्दशनी गरेर मनाएको छ । विभिन्न नगरपालिकाहरू र्याली र कोठे कार्यक्रम गरेर सहकारी दिवस मनाइरहेको बेलामा कृषक र सहकारीलाई उच्च मनोबल जगाउनका लागि कृषि प्रदर्शनी कार्यक्रम गरी मनाइएको हो ।
हेर्नुहाेस् भिडियाे…
बढैयाताल गाउँपालिकामा रहेका ५२ ओटा मध्ये ४३ ओटा सहकारीहरूले कृषि जन्य उत्पादन र हस्तकलाका सामाग्रीहरू प्रदर्शन गरेका छन् । प्रदर्शनीमा स्थानीय जातका तरकारी, रैथाने जातका अन्नबाली, सहकारी मार्फत उत्पादन भएको दूधजन्य पदार्थ, हस्तकलाका सामाग्रीहरू राखिएका थिए । प्रदर्शनी राखिएका कतिपय सामाग्री र कृषि उपजहरु विक्रि भएका छन् ।
गाउँपालिका भित्रका सहकारीहरु के कस्ता कार्यहरू गरिरहेका छन् । के के उत्पादनशील कार्यक्रमहरू सञ्चालन गरेका छन् र तिनीहरूको बजार व्यवस्थापन कसरी गर्न सकिन्छ भने प्रदर्शनी कार्यक्रम गरिएको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीले बताउनु भयो । उहाँले गाउँपालिकाले सहकारी सञ्जालसँग सहकार्य गरी कृषि उपज संकलन केन्द्र सञ्चालन गर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले कृषि उपज संकलन केन्द्रको उद्घाटन गर्नुभएको छ । उहाँले सहकारी दिवसको अवसरमा फरक र नयाँपन दिने कार्यक्रम सुरुवात भएको बताउँदै आफ्नो र प्रदेश सरकारको तर्फबाट सहकारी मार्फत कृषकहरूलाई सक्दो सहयोग गर्ने बताउनु भयो ।
बढैयाताल गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेकपा एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले विगत्मा सहकारी संस्थाको लागि धेरै नै लगानी गरेको बताउनु भयो । बढैयाताल गाउँपालिकाका धेरै सहकारीहरूले व्यवस्थित रुपमा जनतालाई सेवा सुविधा दिइरहेको बताउँदै सहकारीको व्यवस्थापनका लागि नियमानुसार खर्च गर्ने रकम गाउँपालिका बेरुजु नदेखिने बताउनु भयो ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकालले आगामी आर्थिक वर्षको कृषि र पशुपालनका कार्यक्रमहरू सहकारी सँग समन्वय गरेर गर्ने बताउनु भएको छ । सहकारी अभियन्ता हरी अधिकारीले गाउँपालिकाले गर्ने हरेक आयमुलक काममा सहकारीलाई सहभागी गराउनु पर्नेमा जोड दिनु भयो ।
सहकारीले उत्पादन गरेका उत्पादनलाई आफैबाट बजारीकरणको सुरुवात गर्नुपर्ने बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनु भयो । एक सहकारीले अर्को सहकारीको उत्पादन प्रयोग गर्ने, बजारीकरण गर्ने र भारतबाट आयातित सामाग्रीको कम प्रयोग गर्ने गरेमा उत्पादनको बजारीकरण सजिलै हुने बताउनु भयो । उहाँले भन्नुभयो –‘अब हामी सबैले बाचा गर्नुपर्दछ कि म भारतबाट आयातित बस्तु उपभोग गर्दिन सहकारीले उत्पादन गरेका कृषि उपजको प्रयोग गर्छु भनेर । ’
बढैयाताल गाउँपालिका स्तरीय सहकारी सञ्जालका संयोजक विष्णु प्रसाद लम्सालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तित्वका साथै पालिका भरीका ५२ ओटा सहकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी भएका उत्कृष्ट सहकारीहरूलाई कदर पत्र प्रदान गरिएको थियो ।