यज्ञप्रसाद सापकोटा, बर्दिया । विद्युतीय सुरक्षा दिवसको दिनमा नै विद्युतको कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । राजापुर नगरपालिका वडा नं ७ भिम्मापुर बस्ने ४० वर्षीय श्यामलाल थारूको करेन्ट लागेर मृत्यु भएको हो ।
राजापुर नगरपालिका वडा नं १० खैरीमा विद्युतीय कार्य गर्दै गर्दा पोलमा नै करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरीका कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक सागर बोहोराले बताउनु भयो । घरमा विद्युत मिटर जोडेर विद्युत पोलमा तार जोड्न लागेका थारूलाई पोल मै करेन्ट लागेको थियो । केहीबेर पोलमा अड्किएपछि तल जमिनमा झरेका थारूको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । तत्काल घटनास्थलमा स्वास्थ्यकर्मी गएर चेक जाँच गरेका थिए । थारूको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा लगिएको छ ।
बिहान विद्युतीय सुरक्षा दिवस मनाएर फिल्डमा काम गर्न निस्केका थारूलाई विद्युत करेन्ट लागेको विद्युत प्राधिकरण राजापुर वितरण केन्द्रका प्रमुख अनिल कुमार चौधरीले बताउनु भयो । उहाँले सुरक्षाको सम्पूर्ण ज्ञान भएको र सामान्य सुरक्षा सर्तकता अवलम्बन गरेको भएपनि दुर्घटना बस करेन्ट लागेर मृत्यु भएको बताउनु भयो ।
प्रत्यक्षदर्शीका अनुसार पोलमा सुरक्षा सर्तकर्ता नअपनाई चढेको कारणले करेन्ट लागेको बताएका छन् । विद्युतीय पोलमा चढ्दा आवश्यक सुरक्षाका सामाग्रीहरू प्रयोग नगरेको बताएका छन् ।
श्यामलाल विगत लामो समय देखि विद्युतमा काम गर्दै आउनु भएको थियो । पछिल्लो समय करिब डेढ वर्ष देखि प्राविधिक हेल्पर पदमा करार सेवाका कार्यरत रहेको राजापुर वितरण केन्द्रले जनाएको छ । मृतक थारूका एक छोरा एक छोरी र श्रीमती छन् ।